“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल, युवालाई हौसला, खेलाडीको मेल” भन्ने नारासहित कञ्चनपुरको पुनर्वासमा बिहीबारदेखि ‘वडाध्यक्ष कप वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले पुनर्वासमा फुटबलको क्रेज संगै क्रिकेटको समेत क्रेज बढेको बताउनुभयो । वडाले बजेट नै छुट्टाएर पालिका भित्रका खेलाडीहरुलाई अवसरको सिर्जना गर्दै खेल क्षमता बिकासमा लगानी गरेको बताउनुभयो ।

यस्तै प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै पुनर्वास ११ का वडाध्यक्ष तुलसी अर्यालले प्रतियोगिताको उद्देश्य क्रिकेट खेलप्रतिको चासो अभिवृद्धि गर्नु रहेको बताउनुभयो । स्थानीय खेलाडीको प्रतिभालाई उजागर गर्न र क्रिकेटलाई व्यवसायिक रूपमा अगाडि बढाउन क्रिकेटमा लगानी गरीएको उहाँ बताउनुहुन्छ ।

प्रतियोगिता उद्घाटनको अवसरमा क्लबका पदाधिकारी र नगरपालिका कर्मचारी बीच मैत्रीपूर्ण खेल भएको थियो । जसमा क्लबका पदाधिकारी सम्मेलीत टिमले ८ रनको जित हासिल गरे । १ सय २५ रनको लक्ष्य पछ्याएको नगरपालिकाको कर्मचारी सम्मेलीत टिम १ सय १७ रन मै अलआउट भयो । नगरपालिकाको कर्मचारी सम्मेलीत टिम लाई १ सय १७ रन मै अलआउट गर्न क्लबका पदाधिकारी सम्मेलीत टिमका खेलाडी लेखनाथ शर्माले बलिङ तर्फ ४ बिकेट लिए भने ब्याटिङ तर्फ ५ बलमा १३ रन जोडेका थिए । उनै शर्मा आजको खेलको म्यान अफ द म्याच बन्न सफल भए । यस्तै क्लबका पदाधिकारी सम्मेलीत टिमलाई जित दिलाउन सुदर्शन पाठकले सान्दार ५० रन जोडेका थिए ।

हिमाल फ्रेण्ड्स क्लब पुनर्वास–११ को आयोजनामा तथा पुनर्वास नगरपालिका वडा नं. ११ को आर्थिक सहयोगमा शुरु भएको प्रतियोगितामा पालिका भित्रका १० वटा वडास्तरीय टिमहरू सहभागी भएका छन् । प्रतियोगिता बैशाख २७ गतेसम्म क्लबकै खेलमैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितामा विजेता टिमले रु ८२ हजार २ सय २२ नगद र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले रु ४१ हजार १ सय ११ नगद सहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले जनही रु ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ द म्याच लाई ट्रफी प्रदान गरिनेछ । खेलमा विशेष आकर्षणको रूपमा, ६ बलमा ६ छक्का हिर्काउने खेलाडीलाई रु ५ हजार, ६ बलमा ६ चौका हिर्काउनेलाई रु ३ हजार र ह्याट्रिक विकेट लिने खेलाडीलाई रु २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। प्रतियोगीतामा शुक्रबार पुनर्वास ८ र पुनर्वास २ बिच खेल हुनेछ ।