कञ्चनपुरको पुनर्वासमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले “सदस्य सुरक्षण कोष” अन्तर्गत एक सेयर सदस्यका श्रीमानको निधन पछि राहत स्वरूप रकम हस्तान्तरण गरेको छ । सहकारीको सदस्य सूष्मा क्षेत्रीका श्रीमान डम्बरबहादुर क्षेत्रीको निधन पछि राहतस्वरूप ५ लाख ८ हजार ८ सय ८३ रुपैयाँ रकम प्रदान गरिएको हो । रकम हस्तान्तरण सँगै मृतककोे सम्झनामा एउटा लिचीको बोट समेत वृक्षारोपण गरिएको छ, जसले दीर्घकाल सम्म स्मृति जीवित राख्ने अपेक्षा गरिएको छ ।

सदस्य सुरक्षण कोष अन्तर्गत रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पुनर्वास–६ का वडा अध्यक्ष मित्रसिंह लामाले सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताउनुभयो । उहाँले सहकारीले सदस्यको परिवार प्रति देखाएको सहानुभूतिलाई प्रशंसा गर्दै भविष्यमा यस्ता कार्यले समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो ।

यस्तै रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सहकारीका अनुगमन विभाग प्रमुख प्रकाश जिसीले संस्थाले सदस्य सुरक्षण कोषलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले सदस्यको परिवारमा जन्म देखी मृत्युसम्मका सखदुःखका कार्यहरुमा सहकारीले प्रत्येक्ष सहभागीता जनाउने बताउनुभयो । उहाँले सहकारीले हालसम्म झण्डै २७ करोड रुपैया सदस्यहरुलाई हस्तानान्तरण गरेको बताउनुभयो ।

त्यस्तै, किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका इलाका प्रमुख गोरख बहादुर शाहले मृतक प्रत श्रद्धान्जली र मृतक परिवारप्रति समवेदना प्रकट गर्नुभयो । सहकारीको प्रमुख उद्देश्य आर्थिक तथा सामाजिक सहारा प्रदान गर्नु भएकोे रहेको उहाँले बताउनभयो ।

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बि.सं. २०५२ सालमा लम्कीमा स्थापना भई बि.सं. २०७७ सालमा पुनर्वास शाखाको रूपमा पुनर्वास नगरपालिका वडा नंम्वर ६ स्थित प्रतिभानगर टाउन बजारमा स्थापना भएको हो । सहकारीले हालसम्म सदस्य हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ । बि.सं. २०७७ सालमा पुनर्वासमा शाखाको रूपमा स्थापना गरिएको सहकारीले हालसम्म झण्डै २४ लाख बराबरको विभिन्न सुविधाहरू वितरण गरिसकेको छ । पुनर्वास शाखाले मात्रै हाल सम्म १ सय ५८ जना सदस्यहरूलाई सुविधा वितरण गरेको जनाएको छ ।