गणतन्त्र दिवसको अवसर पारेर कञ्चनपुरको पुनर्वास–४ मा रहेको बोर्डर आउट पोष्ट (बिओपी) आँपतालले विशेष सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । पुनर्वास–४ मा नै रहेको शहिद गोबिन्द गौतम स्मृती पार्क र कोटेश्वर शिब मन्दिरमा सशस्त्र प्रहरीले सरसफाई गरेको बिओपी आँपतालले जनाएको छ ।

नेपाली भुमीमा कल्भर्ट निर्माणको बिषयलाई लिएर २०७३ सालमा भएको विवादमा भारतीय पक्षको गोली लागेर शहादत प्राप्त गरेका गौतमको सम्झनामा स्थापना गरिएको स्मृति पार्कमा सशस्त्र प्रहरीले सरसफाई गरेर देशप्रतिको श्रद्धा र शहिद प्रतिको सम्मान प्रकट गरेका छन् ।

बिओपी आँपतालका प्रमुख सशस्त्र प्रहरी निरीक्षक टिकाराम रावलकोे नेतृत्वमा भएको सरसफाई कार्यक्रममा सशस्त्र प्रहरीका जवानहरू र स्थानीय बासिन्दाहरु सहभागी भएका थिए । सरसफाई अभियान अन्तर्गत पार्क र मन्दिरको फोहोर व्यवस्थापन, झारपात हटाउने, फूलबारी सरसफाई र स्मृति स्तम्भ वरिपरि सौन्दर्यकरण गरिएको बिओपी आँपतालले जनाएको छ ।

शहिद गोबिन्द गौतम स्मृती पार्क र कोटेश्वर शिब मन्दिरको सरसफाई सकेपछी बिओपी आँपतालको टोली पुनर्वास नगरपालिका पुगेर त्यहाँ भएको सरसफाई कार्यक्रममा समेत सहभागी भएको थियो ।

शहिद गौतमको बलिदानले सिमा सुरक्षाको महत्व झल्काएको बताउँदै, देश र जनताको सुरक्षाका लागि सशस्त्र प्रहरी सदैव प्रतिबद्ध रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्र देब भट्टले बताउनुभयो । शहिदप्रतिको सम्मानस्वरूप हरेक वर्ष यस्ता कार्यक्रमहरू आयोजना गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो मातहतका सम्पुर्ण कार्यलयहरुले समेत बिभिन्न कार्यक्रमहरु गरेर गणतन्त्र दिवस मनाएको बताउनुभयो ।