कञ्चनपुरको पुनर्वासमा दलित समुदायको सशक्तिकरणका लागि कानुन प्रदत्त व्यवस्था र त्यसको कार्यान्वयनको अवस्था विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले कानुनी अधिकार कागजमा मात्र सीमित रहेको बताउँदै कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। । उहाँले दलितका लागि बनेका कानुनहरू कार्यान्वयनमा सबै तहबाट प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा दलित सशक्तिकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रशिक्षणमा कानुनविद्हरू, मानव अधिकारकर्मी र दलित अभियन्ताहरूले नेपालको संविधानमा दलित समुदायको अधिकार सुनिश्चित गर्न गरिएको कानुनी व्यवस्था, दण्डहीनता अन्त्य, समान अवसर, शिक्षा, रोजगारी तथा सेवामा पहुँचका विषयमा जानकारी दिनु भएको थियो ।

सहभागीहरूलाई व्यवहारिक अनुभव र स्थानीय स्तरमा देखिएका समस्याहरूको समाधानबारे समेत प्रशिक्षण दिइएको नगर स्तरीय दलित समन्वय समितिका अध्यक्ष हरिकृष्ण ताम्राकारले जानकारी दिनुभयो । कार्यक्रमले दलित समुदायबीच कानुनी सचेतना बढाउनुका साथै अधिकारका लागि संगठित रूपमा अघि बढ्न प्रोत्साहन गरेको सहभागीहरूको धारणा रहेको छ ।

कार्यक्रम पुनर्वास नगरपालिका कार्यालयको प्रायोजनमा तथा नगर स्तरीय दलित समन्वय समितिको आयोजनामा पुनर्वास उद्योग वाणिज्य संघको हलमा भएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय, दलित समुदायका अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।