कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रले आफ्नै भवनबाट सेवा सुरु गरेको छ। सोमबार एक कार्यक्रमका बीच पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले उक्त भवनको उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले आधारभूत स्वास्थ्य केन्द्रले आफ्नै भवनबाट सेवा सुरु गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । आधुनिक स्वास्थ्य सेवासँगै यस क्षेत्रको नागरिकको सहजताका लागि प्रस्तुति सेवा सहितको स्वास्थ्य सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

यस्तै भवन उद्घाटन कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले, नयाँ भवनबाट प्रसूति सेवा सँगै आधारभूत स्वास्थ्य सेवाहरू, ओपिडी सेवा, इमर्जेन्सी सेवा, ल्याब सहितको सेवाहरु विस्तार गरिने बताउनु भयो । हिजोको दिनमा लालझाडी एकमा रहेको स्वास्थ्य केन्द्रमा पुग्नु पर्ने अवस्थाको अन्त्य भएको समेत उहाँले बताउनु भयो । विशेषगरी प्रसूति र प्रयोगशाला ल्याब सेवालाई विशेष प्राथमिकता दिएर काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै पुनर्वास-११ का वडा अध्यक्ष तुलसी अर्यालले आजबाट आफ्नो वडामा प्रस्तुति सेवा सहितको आधारभूत स्वास्थ्य सेवा यहाँका नागरिकले प्राप्त गर्ने जानकारी दिनुभयो । यो स्वास्थ्य केन्द्रबाट पुनर्वास-११, पुनर्वास-१० र लालझाडी-१ का नागरिकले सेवा लिन सक्ने उहाँ बताउनुहुन्छ ।

यस्तै कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले, पालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा रहेर काम गरिरहेको बताउनुभयो । पुनर्वास-११ मा प्रस्तुति सेवा सहितको स्वास्थ्य सेवा सञ्चालनमा आउँदा यसै क्षेत्रका नागरिकले सेवा पाउने उहाँ बताउनुहुन्छ । योसँगै पुनर्वास पाँचमा नयाँ स्वास्थ्य सामग्री जडानको तयारी भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

अहिले आधारभूत स्वास्थ्य केन्द्रबाट ९८ प्रकारका निःशुल्क औषधि लगायत विभिन्न सेवाहरु उपलब्ध हुँदै आएको छ ।