दार्चुलामा हरितालिका तीजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा स्थित वडा कार्यालयको आयोजनामा तिज बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री लक्ष्मी बिकले हरितालिका तिजको शुभकामना व्यक्त गर्नुभयो । उहाँले महिला अधिकार र समानताको सवाललाई संवैधानिक हैसियतमै सुनिश्चित गर्न प्रयास हुँदै आएको स्मरण गर्दै अझै व्यवहारमा लागू गर्न समाजको सोच र संरचनात्मक परिवर्तन अपरिहार्य रहेको बताउनुभयो ।

प्रदेश सभा सदस्य बिकले तीज जस्ता सांस्कृतिक पर्वले महिलालाई आत्मबल, आत्मीयता र सामाजिक सन्देश दिने अवसर प्रदान गर्ने भएकाले यसलाई स्वस्थ र सरल ढंगले मनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी महिलाहरूले पनि आफ्नो धारणा राख्दै तीज पर्वले परिवार, छिमेक र समाजबीचको आत्मीय सम्बन्धलाई बलियो बनाउने अवसर भएको बताएका छन् । शुभकामना आदानप्रदान कार्यक्रम स्थानीय महिलाको उत्साहपूर्ण सहभागिता, नृत्य–गीत र आत्मीयतापूर्ण वातावरणबीच सम्पन्न भएको आयोजक वडा नम्बर ४ को कार्यालयले जनाएको छ।

कार्यक्रमको अध्यक्षता अम्बिका नेपालीले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष जगत चुनारा, वडा सदस्यहरू भगत निरौला र जमुना धामी, महिला अधिकारकर्मी सुशिला सिंह, ब्यासी सौगा समाजको प्रतिनिधी उर्ती बुढाथोकी, आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य उदयसिंह बुढाथोकी, समाजसेवी कलावती बडाल र निर्मला धामी अतिथिका रूपमा सहभागी रहनु भएको थियो।