कञ्चनपुरको पुनर्वासमा रहेको लालझाडी युवा क्लब ११ को नव–निर्मित भवन उद्घाटन हुने भएको छ । भदौ २२ गते बिहान नव–निर्मित भवन र फिफा फुटबल फर स्कूल कार्यक्रमको उद्घाटन गरीने क्लबले जनाएको छ । सो कार्यक्रमको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङले गर्ने कार्यक्रम तय भएको लालझाडी युवा क्लब ११ का अध्यक्ष कासीराम बोहोराले जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष नेम्वाङ सहित एन्फाका पदाधिकारीको टोली सहभागी हुने उहाँले बताउनुभयो ।

स्थानीय स्तरमा खेलकुदको संरचना विकास गर्ने उद्देश्यले क्लबले भवन निर्माण सम्पन्न गरेको उहाँ बताउनुहुन्छ । त्यस्तै, फुटबलको पहुँच विद्यालय तहदेखि नै विस्तार गर्ने उद्देश्यले फिफा फुटबल फर स्कूल कार्यक्रम पनि सुरु गर्न लागिएको क्लबका अध्यक्ष बोहोराले जानकारी दिनुभयो । यस कार्यक्रम मार्फत स्थानीय विद्यार्थीलाई फुटबल सम्बन्धी आधारभूत ज्ञान, प्रशिक्षण तथा अवसर उपलब्ध गराइने उहाँ बताउनुुहुन्छ ।

लालझाडी युवा क्लबले सम्पूर्ण खेलप्रेमी, खेलाडी, अभिभावक तथा स्थानीयलाई कार्यक्रममा सहभागी भई अध्यक्ष नेम्वाङ र टोलीलाई स्वागत गर्न आग्रह समेत गरेको छ । आयोजकले यो कार्यक्रमले स्थानीय फुटबलमा नयाँ उत्साह थप्ने, प्रतिभावान खेलाडी पहिचान गर्ने र जिल्लालाई राष्ट्रिय फुटबलमा अझ मजबुत रूपमा परिचित गराउने विश्वास व्यक्त गरेको छ।