कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित परासन स्वास्थ्य चौकीमा महिलाहरूमा देखिने पाठेघर सम्बन्धी समस्याको पहिचान, उपचार तथा रोकथामका लागि आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरसम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा पुनर्बास नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमा महिला तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक र मेडिकल अफिसरहरूले महिलाहरूको चेकजाँच, उपचार तथा परामर्श सेवा प्रदान गरेका थिए । उक्त शिविरमा १ सय ६७ जना महिलाहरूले स्वास्थ्य सेवा लिएको पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खडकाले जनाकारी दिनुभयो ।

सेवाग्राहीमध्ये ७३ जना महिलाले Visual Inspection with Acetic Acid जाँच गराएका थिए, जुन पाठेघरको मुखमा क्यान्सरको जोखिम छ वा छैन भनेर पत्ता लगाउन गरिन्छ । २७ जना महिलाले पाठेघरको भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) जाँच गराएको उहाँले बताउनुभयो ।

परासन स्वास्थ्य चौकीका प्रमुख रामचन्द्र तिमिल्सीनाले शिविरमा सहभागी अधिकांश महिलाहरूमा व्यक्तिगत सरसफाइको कमीका कारण पाठेघरबाट फोहोर पानी बग्ने, संक्रमण, दुखाइ र असहजता जस्ता समस्या देखिएको बताउनुभयो ।

चेकजाँचसँगै केही समयका लागि आवश्यक औषधिहरू निःशुल्क रूपमा वितरण गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । साथै, जिल्ला स्वास्थ्य कार्यालयको टोलीले महिलाहरूलाई व्यक्तिगत सरसफाइ, नियमित स्वास्थ्य परीक्षण, सुरक्षित यौन व्यवहार, र पाठेघर क्यान्सरको रोकथाम सम्बन्धी आवश्यक सुझाव तथा परामर्श समेत प्रदान गरेको थियो ।

स्वास्थ्य चौकी प्रमुख तिमिल्सिनाका अनुसार परासन क्षेत्र पुनर्वास नगरपालिकाको भौगोलिक रूपमा दुर्गम क्षेत्र भएको उल्लेख गर्दै, यहाँका नागरिकहरूका लागि शिक्षा र स्वास्थ्य सेवामा विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । यस्ता स्वास्थ्य शिविरहरूले स्थानीय महिलाको स्वास्थ्य सचेतना र पहुँचमा सकारात्मक प्रभाव पार्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्य कार्यालय कञ्चनपुरले आगामी दिनमा पनि महिला, किशोरी तथा जोखिममा रहेका समुदाय लक्षित स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।