कञ्चनपुरको पुनर्वास नगरपालिकामा जेन्जी समूहको आयोजनामा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । जेन्जी अगुवा यादव सिंहको नेतृत्वमा भएको उक्त कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई एकजुट गर्दै स्थानीय स्तरका समस्या, चुनौती र सम्भावनाबारे खुल्ला छलफल गर्नु रहेको यादव सिंहले बताउनुभयो ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन, युवा सहभागिता, विकास निर्माण, सामाजिक न्याय लगायतका विविध विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागी युवाहरूले पुनर्वास नगरपालिका भित्र विद्यमान समस्याहरू जस्तै बेरोजगारी, युवाको पलायन, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभाव, स्थानीय विकासमा युवाको सहभागिता न्यून हुनु लगायतका विषयहरू उठान गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा सामाजिक अभियन्ता हेमराज थापाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै थापाले वर्तमान राजनीतिक अवस्था र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै नेताहरूले जनताको वास्तविक समस्या कहिल्यै गम्भीरता पूर्वक नसोचेको धारणा राख्नुभयो । उहाँले अब परिवर्तनको नेतृत्व युवाहरूले नै लिनुपर्ने समय आएको बताउँदै जेन्जी युवाहरू एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो।  उहाँले अब युवाहरू चुप लागेर बस्ने अवस्था नरहेको बताउदै नेताहरूले केवल सत्ता र स्वार्थको राजनीति गरेको बताउनुभयो । जनताको दुःख र आवश्यकता उनीहरूको प्राथमिकतामा कहिल्यै नरेको बताउदै थापाले अब एक–एक गर्दै युवाहरू आफैं अघि बढ्नुपर्ने, संगठित हुनुपर्छ र समाज परिवर्तनको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा युवाहरूले पालिका भित्रका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा, खेलकुद पूर्वाधार, रोजगारी सिर्जना र युवामैत्री नीति निर्माण जस्ता विविध समस्याहरू सामाजिक अभियन्ता हेमराज थापा समक्ष राखेका थिए । युवाहरूका सवाल सुन्दै थापाले ती समस्याहरू समाधानका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी युवाहरूले स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि युवाहरू एकजुट भई दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औलयाएका छन् ।