कञ्चनपुरको पुनर्वास ३ आइबिआरडीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड कालिकाको १५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार पुनर्वास १ स्थित शान्ति माध्यामीक बिद्यालयको खेल मैदानमा आयोजीत कार्यक्रममा संस्थाको अध्यक्ष मिना बिष्टको अध्यक्षता र नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक तथा प्रदेश कृषि संघका संयोजक धर्मसिंह कुँवरको प्रमुख आतिथ्यतामा १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक तथा प्रदेश कृषि सङ्घका संयोजक धर्मसिंह कुँवरले सहकारीले स्थानीय स्तरमा दिएको आर्थीक योगदानको चर्चा गर्नुभयो । रिण लगेर फिर्ता नगर्ने अहिले बिकारल अवस्था सिर्जना भएको बताउदै रिणको बिमा गर्नुपर्नेमा जोड दिनुभयो ।

एउटै ब्यक्ति बिभिन्न सहकारीमा आबद्ध हुने, सबैतिर बाट रिण लिने, र रिण नतिर्ने सदस्यहरुबाट बच्न आवश्यक रहेको उहाँले बताउनु भयो । शेयर सदस्यहरूमा पनि सहकारी हाम्रो हो भन्ने भावना हुनुपर्ने बताउँदै, सहकारीको पूर्ण स्वामित्व सेयर सदस्यहरूमा निर्भर रहेको बताउनुभयो । सहकारीलाई कस्तो बनाउने भन्ने कुरा सेयर सदस्यहरूकै हातमा रहेको उहाँले बताउनुभयो । गाउँघरमा स्थापना भएर एक–एक रुपैया संकलन गरी सहकारीले अहिले झण्डै ८५ लाख नाफा कमाउन सफल भएको बताउँदै उहाँले सहकारी सञ्चालक, सेयर सदस्यहरूमा कृतज्ञता व्यक्त गर्नुभयो ।

यस्तै साधारण सभामा साना किसान कृषि सहकारी संस्था लिमिटेड कालिकाको अध्यक्ष मिना बिष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विसं २०६६ पुस २० गते सहकारी स्थापना भई हालसम्म पुग्दा १ हजार ७ सय ०४ सदस्यहरू सहकारीमा आबद्ध भएको उहाँले जानकारी दिनुभयो । सहकारीले आर्थिक वर्ष २०८१÷८२ मा ४ करोड २१ लाख ८३ हजार आम्दानी गरेको छ भने ३ करोड २७ लाख ७८ हजार खर्च गरी ८४ लाख ८२ हजार ५ सय नाफा कमाउन सफल भएको उहाँले बताउनुभयो ।

यस्तै आर्थिक वर्ष २०८१÷८२ मा सहकारीले २० करोड ८० लाख ९ हजार कुल लगानी गरेको थियो भने १९ करोड १ लाख ९१ हजार १२० कुल सावाँ असुली गरेको उहाँले जानकारी दिनुभयो । यस्तै सहकारीले आर्थिक वर्ष २०८२÷८३ मा ५ करोड ४७ लाख १७ हजार आम्दानी गर्ने र १ करोड ६० लाख नाफा कमाउने प्रस्तावित लक्ष्य राखेको सहकारीको अध्यक्ष मिना बिष्टले जानकारी दिनुभयो ।


साधारण सभा कार्यक्रममा बिभिज्न क्षेत्रबाट आमन्त्रित ब्यक्तित्वहरु, बिभिन्न सहकारीबाट आमन्त्रित प्रतिनिधिहरु, सहकारीका सदस्यहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।