ट्राफिक सप्ताह २०८२ को अवसर पारेर कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित त्रिभुवनबस्तीमा ट्राफिक सचेतना र्‍याली सम्पन्न गरिएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनाबारे आम नागरिकलाई सचेत गराउने उद्देश्यले आयोजित र्‍यालीमा प्रहरी, विद्यार्थी, जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती तथा अस्थायी ट्राफिक प्रहरी पोष्टको आयोजनामा निकालिएको र्‍यालीमा सहभागीहरूले ट्राफिक नियम पालना गरौँ, हेलमेट र सिटबेल्टको प्रयोग गरौँ, तीव्र गतिमा सवारी नचलाऔँ जस्ता सन्देश लेखिएका प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए।

र्‍यालीपश्चात आयोजित कोणसभामा बोल्नुहुँदै पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्रसिंह लामाले ट्राफिक सप्ताहजस्ता कार्यक्रमले नागरिकमा अनुशासन र जिम्मेवारीको भावना विकास गर्ने बताउनुभयो। उहाँले सवारी चालक तथा पैदलयात्री दुवैले ट्राफिक नियमको पालना गरे मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने उल्लेख गर्नुभयो।

यस्तै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले ट्राफिक नियमको पालना नागरिकको आफ्नै सुरक्षासँग जोडिएको विषय भएको बताउनुभयो। उहाँले सडक दुर्घटना नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै ट्राफिक सप्ताह २०८२ को मूल सन्देशलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

र्‍यालीमा सहभागी विद्यार्थीहरूले सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा पैदलयात्रीलाई प्राथमिकता दिन आग्रह गरेका थिए । ट्राफिक सप्ताह २०८२ का अवसरमा पुनर्वास क्षेत्रमा थप सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने इलाका प्रहरी कार्यालय तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट त्रिभुवन बस्तीले जनाएको छ।