कञ्चनपुरको पुनर्वास नगरपालिका–४, जनक बस्तीमा वर्ण व्यवस्था उन्मूलन समाजको वार्षिक आमभेला भव्य रुपमा सम्पन्न भएको छ। समाजले जातीय विभेद, छुवाछुत र असमानताको अन्त्य गरी सामाजिक समानता र मानवअधिकार सुनिश्चित गर्ने विषयमा भेलामा छलफल भएको थियो । साथै भेलाबाट नयाँ समिति गठन गरी दर्ता प्रक्रियामा लैजाने विषयमा समेत छलफल भएको कार्यक्रमका अध्यक्ष दलबहादुर ओखेडाले बताउनुभयो।


उक्त आम भेलालाई उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट दिलबहादुर विकले कुनै पनि वर्ण विभेद नभई मानवताको पहिचान भएको बताउनुभयो। उहाँले विभेद मुक्त शिक्षा, समाज नै आफूहरूको साझा अभियान र लक्ष्य रहेको बताउनुभयो । उहाँले दलित र पिछडिएको समुदायलाई सामाजिक गतिशीलता र आत्मनिर्भरता तर्फ उन्मुख गराउन सदैव आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष ओखेडाले यस आम भेलाले विगतको समीक्षा गर्दै आगामी दिनहरूमा नयाँ ढङ्गबाट अघि बढ्ने, दर्ता प्रक्रियामा लैजाने तयारी गरिएको बताउनुभयो । उहाँले अबदेखि हरेक महिना समाजको मिटिङ बसी शिक्षा समानता कार्यक्रम अन्तर्गत दलित तथा पिछडिएको समुदायका बालबालिकाको विद्यालय शिक्षा पहुँचमा वृद्धि गर्ने लक्ष्य राखेको बताउनुभयो ।

यस्तै सामाजिक सचेतना कार्यक्रम अन्तर्गत जातीय विभेद र छुवाछुत विरुद्ध गाउँ तहमा कार्यक्रम संचालन गर्ने लक्ष्य आफूहरूको रहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय कृष्णपुर नगरपालिकामा भएको बिभेदको घटनाले आफुहरुको पनी ध्यानाकर्षण भएको बताउदै कसैले पनी सामाजीक रुपमा बिभेद गर्छ भने कानुनी रुपमा कसैलाई पनी नछोड्ने उहाँले बताउनुभयो । यो सँगसँगै आर्थिक तथा सीप विकास अन्तर्गत समग्र युवाहरूलाई उद्यमशीलता, सिप तालिम उपलब्ध गराउन स्थानीय तहलाई दबाब सिर्जना गर्नुका साथै रोजगारीका अवसर उपलब्ध गराउने वातावरण तयार गर्ने आफूहरूको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

यस्तै विशिष्ट अतिथिको आसनबाट कार्यक्रममा बोल्नुहुँदै टेकबहादुर विकले समुदाय स्तरमा विभेद र अवहेलना विरुद्ध कानुनी परामर्श तथा सहयोग आवश्यक रहेको बताउनुभयो। युवाहरूलाई समान अवसर सुनिश्चित गर्न स्वास्थ्य, शिक्षा, रोजगारी र सरकारी सेवामा सबैलाई समान पहुँच दिलाउन अब आफै एक भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। कार्यक्रममा सहभागीहरूले सामाजिक समानता, समान अधिकार र प्रभावकारी नीति निर्माणमा तल्लो तहबाट नै जोड दिनुपर्ने बताएका छन् ।