शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) आउन अब तीन हप्ता मात्रै बाँकी रहेको छ । परीक्षा नजिकिदै जाँदा विद्यार्थीहरूमा एकखालको दबाव समेत पर्न जाने हुनसक्छ । यस सन्दर्भमा कुनै दबावमा नपरी विद्यार्थीहरूले तयारीमा जुट्नुनै उपयुक्त हुन्छ । यो तीन हप्ताभित्र विद्यार्थीले देहायका कार्य गरेमा सफलता हासिल गर्न सक्ने अपेक्षा गर्न सकिन्छ :

(१) टेनसेटको अभ्यासमा जोड : आजभोली प्राय: सबै विद्यार्थीले आफैं लगानी गरेर भए पनि सम्पूर्ण विषयका नमूना प्रश्नोत्तर सहित समेटिएका टेनसेट (प्रश्नपत्रको संगालो) को व्यवस्था गरेका हुन्छन् । उक्त संगालोबाट प्रत्येक दिन बेलुकीपख ३ घण्टाको समय व्यवस्थापन गरी SEEकै समयसारिणीअनुसार हुने गरी नमूना अभ्यास गर्दा निकै प्रभावकारी हुन्छ । जस्तै: आइतबार अङ्ग्रेजी, सोमबार नेपाली, मङ्गलबार गणित, बुधबार विज्ञान, बिहीबार सामाजिक अध्ययन, शुक्रबार ऐच्छिक प्रथम र शनिबार ऐच्छिक द्वितीय विषयको परीक्षाशैलीमा नमूना अभ्यास गर्न सकिन्छ । यसका लागि बेलुकी ६ बजेदेखि ९ बजेसम्मको समय विद्यार्थीका लागि उपयुक्त हुन सक्छ । एक विषयको अभ्यास अनिवार्य रूपमा कम्तिमा एकचोटी त गर्नैपर्छ । यो अभ्यासलाई दुई पटकसम्म गर्न सके झनै प्रभावकारी हुन्छ । अभिभावकले समेत विद्यार्थीको यस कार्यमा आवश्यक निगरानी र वातावरणको सिर्जना गर्नुपर्दछ । उक्त अभ्यास शिक्षकबाट जाँच गराइ आवश्यक पृष्ठपोषण समेत प्राप्त गर्नुपर्दछ ।

(२) साथी-साथीबिचको सिकाइ : यो मोडेलमा एउटा साथीले प्रश्न सोध्ने र अर्को साथीले उत्तर दिने कार्य गर्दछन् । अत: अबको यो छोटो समयमा विद्यार्थीहरूले विद्यालय भित्र र विद्यालय बाहिर जहाँसुकै भए पनि एउटा साथीलाई प्रश्न सोध्न लगाउने र आफूले उत्तर दिन प्रयास गर्नु उपयुक्त हुन्छ ।

(३) प्रश्नपत्रको संरचनाबारे जानकारी : फागुन मसान्तसम्म प्राय: विद्यालयमा पाठ्यघण्टा बमोजिम पाठ्यक्रमअनुसारको सिकाइ पूरा भएको हुन्छ । अर्थात पठनपाठनको कोर्स सकिएको हुन्छ । शिक्षकले आ-आफ्नो विषयका विशिष्टीकरण तालिका विद्यार्थीलाई स्पष्टसँग बुझाइदिनुपर्छ । ज्ञान, बोध, प्रयोग र उच्च दक्षताबाट आउन सक्ने सम्भावित प्रश्नको प्रकृतिका सम्बन्धमा शिक्षकले जानकारी गराउनुपर्छ ।

(४) बिहान स्मरण र बेलुका लेखाइ : विद्यार्थीले बिहानको समयमा परिभाषा, कार्य, महत्व, सूत्र, भनाई, बिशेषता, कारण, परिणाम आदि स्मरण गर्ने विषयवस्तुमा समय दिनुपर्छ र बेलुका लेख्नुपर्ने अभ्यासका विषयवस्तुमा जोड दिनु उपयुक्त हुन्छ ।

(५) प्रश्न निर्माण गर्ने वातावरणको सिर्जना : शिक्षकले कक्षामा आ-आफ्नो विषयका कोर्स पूरा गरेको सन्दर्भमा अब विद्यार्थीमा प्रश्न निर्माण गर्न सक्ने क्षमता विकासमाकेन्द्रित हुनुपर्छ । विद्यार्थी तब मात्रै प्रश्न निर्माण गर्न सक्छ जब उसले पर्याप्त अध्ययन गर्दछ । बिना अध्ययन कुनै पनि विद्यार्थीमा प्रश्न निर्माण गर्ने क्षमता विकास हुँदैन । अत: विद्यार्थीमा अध्ययन गर्ने बानी विकास गर्नकै लागि भएपनि प्रति दिन एक जना विद्यार्थीले एउटा विषयमा कम्तिमा पनि ५ ओटा प्रश्न शिक्षकलाई सोध्नैपर्ने नियम कक्षामा लागू गर्न सके निकै सकारात्मक प्रभाव पर्न सक्छ । जसले छोटो समयमा भए पनि पठन संस्कृतिको विकास हुन सक्छ र SEE को तयारीमा सहयोग पुग्न जाने देखिन्छ । घरमा विद्यार्थी आफैंले पनि SEE  मा यो एकाइ/पाठबाट यस्तो खालको प्रश्न आउन सक्छ भनि पूर्व अनुमान गर्न सकेपनि सकारात्मक प्रभाव पर्दछ ।

(६) समयसारिणी बनाइ अध्ययन : यो  छोटो समयमा सातओटै विषयको समयसारिणी बनाइ अध्ययन गर्न सके अत्यन्तै प्रभावकारी हुन्छ । यो अभ्यासलाई निम्न मोडेलमा सञ्चालन गर्न सकिन्छ :

विषय

अध्ययनको समय
विज्ञान

बिहान ५:३०-६:३०

सामाजिक अध्ययन

बिहान ६:४५-७:४५

अङ्ग्रेजी

बिहान ८:००-९:००

नेपाली

बेलुकी ५:००-६:००
ऐ. प्रथम

बेलुकी ६:३०-७:३०

गणित

बेलुकी ८:००-९:००

ऐ. द्वितीय

बेलुकी ९:००-१०:००

उल्लिखित समयसारिणीलाई सातओटै विषयको टेनसेटको अभ्यास गर्नुभन्दा अगाडि वा गरिसके पश्चात पनि लागू गर्न सकिन्छ । तर अध्ययन गर्नुपर्ने विषयलाई आफू अनुकूल राख्न सकिन्छ । एक दिनमा सम्पूर्ण विषयलाई प्रतिनिधिमूलक रूपमा अध्ययन गर्ने बानी बसाल्नु उपयुक्त हुन्छ ।

अत: SEE दिने तयारीमा रहेका विद्यार्थीले माथि दिइएका सुझावलाई आत्मसात गर्न सक्ने हो भने पक्कै पनि सिकाइ उपलब्धि बढ्न गइ GPA मा पनि बढोत्तरी हुने अपेक्षा गर्न सकिन्छ ।

 

लेखक : नबराज पाण्डेय

प्रधानाध्यापक : श्री राष्ट्रिय माध्यमिक विद्यालय

पुनर्वास-११, अमरबस्ती, कञ्चनपुर