कञ्चनपुरको पुनर्वास नगरपालिकाले भूसेवा केन्द्र सञ्चालन गरेसँगै पहिलो लालपुर्जा वितरण गरेको छ। पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले पुनर्वास-६ निवासी धनसरा बुढाथोकीलाई पहिलो लालपुर्जा हस्तान्तरण गर्दै भूसेवा केन्द्रको सुरुवात गर्नुभएको हो ।  लालपुर्जा हस्तान्तरण गर्दै नगर प्रमुख शर्माले भूसेवा केन्द्रमार्फत अबका दिनमा पालिकाबाटै धेरै कामहरू हुने बताउनुभयो । 

सिङ्गो कित्ताहरूमा अहिले काम भइरहेको भएपनि कित्ता काट लगायतका कामहरू पालिकाबाट गर्न नमिल्ने पुनर्वास नगरपालिकाका प्रशासकीय अधिकृत शंकर बोगटीले जानकारी दिनुभयो । मालपोत कार्यालय बेलौरी जानै नपर्ने भन्ने होइन, तर केही कामहरू अब पालिका मार्फत नै हुने उहाँले जानकारी दिनुभयो । 

सुदूरपश्चिम प्रदेशमै धनगढी उपमहानगरपालिका लम्कीचुहा नगरपालिका र पुनर्वास नगरपालिकाले पहिलोपटक भूसेवा केन्द्र सञ्चालन गरेको छ। भूसेवा केन्द्र सञ्चालन भएपनि पुनर्वास नगरपालिका सुदूरपश्चिमै पहिलो लालपुर्जा हस्तान्तरण गर्ने पालिका बनेको छ।