पुनर्वास : गर्मियाम सुरु भएसँगै बढ्दो वन डढेलोको जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुरको पुनर्वास क्षेत्रमा वन डढेलो नियन्त्रण सम्बन्धी तालिम सम्पन्न गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजना तथा कुण्डा सब-डिभिजन वन कार्यालय पचकडियाको संयोजनमा उक्त तालिम सञ्चालन गरिएको हो ।

तालिममा अग्नि नियन्त्रण सम्बन्धी सैद्धान्तिक जानकारी सँगै व्यवहारिक अभ्यास समेत गराइएको थियो । सहभागीहरूलाई डढेलो फैलिन नदिन अपनाउनुपर्ने सावधानी, प्रारम्भिक नियन्त्रणका उपाय तथा सामूहिक प्रयासको महत्त्वबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै कुण्डा सब-डिभिजन वन कार्यालय पचकडियाका प्रमुख वन अधिकृत दिनेश कुमार यादवले वन डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय समुदाय, उपभोक्ता समूह र सरोकारवाला निकायबीच समन्वय गरेर मात्र डढेलो नियन्त्रण प्रभावकारी बनाउन सकिने उहाँले बताउनुभयो ।

वन अधिकृत यादवले विशेषगरी “अग्नि रेखा” (फायर लाइन) निर्माणलाई डढेलो नियन्त्रणको महत्वपूर्ण उपाय भएको बताउनुभयो । उहाँका अनुसार जंगलमा निश्चित चौडाइको क्षेत्र सफा गरी आगो फैलिन नदिने संरचना निर्माण गर्न सके डढेलो नियन्त्रण गर्न सहज हुने बताउनुभयो ।

उहाँले आगलागी हुनसक्ने सम्भावित क्षेत्रहरूको पहिचान, नियमित निगरानी, सचेतनामूलक कार्यक्रम तथा शीघ्र सूचना आदानप्रदान प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । साथै, वन क्षेत्रमा जथाभावी आगो बाल्ने, खरानी फाल्ने जस्ता गतिविधि नियन्त्रण गर्न सबैलाई आग्रह गर्नुभयो।

उक्त तालिममा अमर गोकुल सामुदायिक वन, अमर श्री कृष्ण सामुदायिक वन, भिम सामुदायिक वन र सिद्धदेवी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष लगायत पदाधिकारीहरूले समेत वन डढेलो नियन्त्रण गर्न समुदायको भुमिका र समुहबाट गरेको प्रयास बारे जानकारी गराउनु भएको थियो ।

तालिममा वन कर्मचारी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो। वन डढेलोका घटनाहरू प्रत्येक वर्ष बढ्दै गएकाले यस्ता तालिम कार्यक्रमले जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।