सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीको २५ औँ स्थापना दिवसको उपलक्ष्यमा कञ्चनपुरको पुनर्वासमा विशेषज्ञ सेवा सहितको एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

भोलि चैत १९ गते पुनर्वास नगरपालिका वडा नं. ९ को कार्यालय विचफाँटाको परिसरमा उक्त स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो। सशस्त्र प्रहरीले आफ्नो स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वका रूपमा मनाउँदै स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले यो विशेष कार्यक्रम तय गरेको जानकारी सीमा सुरक्षा गुल्म बेलौरी का प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले बताउनुभयो।

शिविरमा दन्तरोग, स्त्रीरोग तथा आँखा रोग लगायतका विषयमा विशेषज्ञ चिकित्सकहरू सहितको विशेष मेडिकल टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गर्नेछ। यसका अतिरिक्त अन्य विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरूले पनि विशेषज्ञ परामर्श र उपचार सेवा प्राप्त गर्न सक्ने आयोजकले जानकारी दिएको छ।

यो कार्यक्रममा पुनर्वास नगरपालिकाले पनि सहकार्य गरेको छ। त्यस्तै कार्यक्रमलाई सफल तुल्याउन सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी र सीमा सुरक्षा गुल्म बेलौरीले समेत व्यवस्थापकीय र प्राविधिक पक्षमा आवश्यक समन्वय गरिरहेका छन्।