कञ्चनपुरको पुनर्वासमा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको २५ औँ स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर सम्पन्न भएकोे हो ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले स्वास्थ्य शिबिर सञ्चालनका लागी आफ्नो पालिकाको वडा छनौट गरेकोमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी परीबारलाई धन्यबाद ब्यक्त गर्नुभयो । अस्पतालको पहुच भन्दा बाहिर रहेका स्थानीयले शिबिरबाट फाइदा लिन सक्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बोल्नु हुदै सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका निमित्त बाहिनिपती दिग बिजय सुबेदीले बाहिनीको २५ औँ स्थापना दिवसको अवसरमा पुनर्वासमा स्वास्थ्य शिबिर आयोजना गर्न पाउँदा आफुलाई खुशी लागेको बताउनुभयो । सशस्त्र प्रहरीले सिमा सुरक्षा संगै शान्ति सुरक्षा, विपद् ब्यवस्थापन र चोरी तस्करी नियन्त्रणमा काम गर्दै आएको उहाँले बताउनुभयो । सिमा क्षेत्रमा बस्ने नागरीक स्वास्थ्य रहे मात्र देशको सिमा स्वास्थ्य रहने बताउदै सिमा क्षेत्र नजीक रहेको सिमा बस्तीमा स्वास्थ्य शिबिर आयोजना गरीएको उहाँले बताउनुभयो ।

शिविर पुनर्वास नगरपालिका वडा नं. ९ को वडा कार्यालयको परिसरमा आयोजना गरिएको थियो । स्थानीय बासिन्दालाई लक्षित गर्दै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा विभिन्न रोग सम्बन्धी परीक्षण तथा उपचार सेवा प्रदान गरिएको पुनर्वास ९ का वडाध्यक्ष नर बहादुर बिकले जानकारी दिनुभयो । शिविरमा आँखा, स्त्रीरोग, डेन्टल तथा अन्य सामान्य रोगका बिरामीहरूले सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका अनुसार आँखा सम्बन्धी समस्याका २ सय ९४ महिला र १ सय ९१ पुरुष गरी ४ सय ८५ जनाले सेवा लिएका छन् । यस्तै स्त्रीरोग सम्बन्धी ७२ जनाले सेवा लिएका छन् । यस्तै डेन्टल सम्बन्धी समस्यामा ७५ महिला र ५७ पुरुष १ सय ३२ जनाले सेवा लिएका छन् भने अन्य रोग सम्बन्धी ५० महिला र ३० पुरुष गरी ८० जनाले सेवा लिएको छन् । समग्रमा कुल ७ सय ६९ जना सेवाग्राही लाभान्वित भएको वैद्यनाथ बाहिनीले जनाएको छ ।

कार्यक्रममा पुनर्वास नगरपालिका, पुनर्वास ९ को वडा कार्यालय साथै सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरी र सीमा सुरक्षा गुल्म बेलौरी सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिबिरमा स्वास्थ्य चेकजाचका लागी आएका स्थानीयहरूले ग्रामीण क्षेत्रमा सशस्त्र प्रहरीले दिएको सेवा अत्यन्तै उपयोगी भएको बताएका छन् । उनिहरुले आगामी दिनमा पनि यसरी नै जनता मैत्री भएर काम गर्न समेत आग्रह गरेका छन् ।