केशव भट्टराई धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री लक्ष्मी विकले दार्चुला लगायतका हिमाली तथा पहाडी जिल्लाहरूमा सडक सञ्जालको अवस्था एकदमै दयनीय रहेको बताउनुभयो । पछिल्लो समय दार्चुलाको शैल्यशिखरमा भएको दुर्घटनाको दुःख व्यक्त गर्दै दिनप्रतिदिन सडक दुर्घटना बढिरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले प्रदेश सरकार र स्थानीयतहमा निर्माण हुने सडक योजनाहरूमा निर्माण व्यवसायीले गरेको ढिलासुस्ती र बिना मापदण्ड निर्माण भइरहेको योजनाहरू प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रदेश सभा सदस्य विकले दार्चुलाको दुम्लिङमा राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज साम्पाङले जनश्रमदान र सहयोगमा बनाउन लागेको झलुङ्गे पुल निर्माणको काम प्रशंसनीय रहेको बताउदै धन्यवाद व्यक्त गर्नुभयो ।

शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री विकले प्रदेश सरकार के गरेर बसेको छ भन्दै प्रश्न समेत गर्नुभयो। हालसम्म प्रदेश सरकारको पुँजीगत खर्च १४ प्रतिशत मात्रै रहेको जानकारी दिँदै जनताले के गरेर बसेका छन् भन्ने प्रश्न गर्ने गरेको उहाँले बताउनुभयो । यस्तै दार्चुलामा सीमा क्षेत्र विकास कार्यक्रम संचालनका लागि पटक-पटक सदनमा कुरा उठाउनुका साथै सरकारसँग कुरा गरे पनि सरकारले नसुनेको भन्दै उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

पछिल्लो समय प्रदेश सरकारप्रति जनताको वितृष्णा बढेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तै संसदमा बोल्दै उहाँले प्रदेश सभामा दर्जनौं विधेयकहरू अलपत्र अवस्थामा रहेको बताउँदै सरकारले ६ महिना सुत्ने ६ महिना उठ्ने कुम्भकर्ण शैलीमा काम गरिरहेको उहाँले बताउनुभयो । नागरिकहरू अहिलेको व्यवस्थाप्रति निराश भएको बताउँदै प्रदेश सभाको तीन वर्ष बितिसक्दा पनि प्रदेश सभाले कानुन निर्माण, विकास निर्माण, सुशासन, सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय काम गर्न नसकेको बताउनुभयो ।

उहाँले अहिले केन्द्रमा राष्ट्रीय स्वतन्त्र पार्टीको सरकार बनेका बताउँदै केन्द्र सरकारलाई शुभकामना समेत व्यक्त गर्नुभयो। पछिल्लो समय प्रदेश सरकारले गरेको काम कारबाही प्रति चित्त बुझाउने ठाउँ नरहेको बताउँदै सरकारले राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।