कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ मा रहेको बोर्डर आउट पोस्ट बि.ओ.पी खड्डा कङ्कडको सीमा सहजीकरण समितिको मासिक बैठक सम्पन्न भएको छ । पुनर्वास ८ का वडा अध्यक्ष राना श्रवणको अध्यक्षतामा सहजीकरण समितिको बैठक सम्पन्न भएको हो । सीमा क्षेत्रमा हुने गतिविधिहरूलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन उद्देश्यले सीमा सहजीकरण समितिको बैठक गरिएको बिओपी खड्डाकङ्कडले जनाएको छ ।

बैठकमा सीमा अतिक्रमण नियन्त्रण, अवैध आवतजावत तथा तस्करी जस्ता गतिविधि न्यूनीकरण गर्ने विषयमा छलफल भएको थियो। सहभागीहरूले सूचना आदान–प्रदानलाई चुस्त बनाउने, सीमा क्षेत्रमा हुने गतिविधिहरूको निगरानी बढाउने तथा आवश्यक समन्वय कायम गर्नेमा जोड दिएका थिए।

बैठकले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संस्थाहरूबीच सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने निर्णय गरेको छ। साथै, राजस्व संकलनमा सहयोग पुर्‍याउने तथा अवैध क्रियाकलाप नियन्त्रणका लागि संयुक्त रूपमा पहल गर्ने सहमति पनि गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।