कैलालीको धनगढी–२ बैयाबेहडी स्थित श्रीपेच इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टले “सीप, स्वाद र सेवा–एकै थलोमा” भन्ने नारासहित कार्यकारी खाजा कार्यक्रम २०८३ आयोजना गरेको छ।

बिहीबार श्रीपेच इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टमा आयोजित कार्यक्रममा प्रोफेसनल कुक विषयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना अभिभावक तथा आमन्त्रित अतिथिहरूलाई आफैंले तयार पारेका विभिन्न परिकारहरू खुवाएका हुन्। श्रीपेच इन्स्टिट्युट अफ होटल म्यानेजमेन्टका प्रबन्धक निर्देशक गणेश शाहीका अनुसार यस प्रकारको कार्यक्रम संस्थाले प्रत्येक वर्ष  आयोजना गर्दै आएको बताउनुभयो।

विद्यार्थीहरूले अध्ययनका क्रममा सिकेका कुकिङ स्किललाई व्यवहारमा उतार्ने, आत्मविश्वासका साथ सेवा प्रदान गर्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने उद्देश्यले अभिभावकलाई आमन्त्रित गरी यस्तो कार्यक्रम गरिएको  उहाँले बताउनुभयो। साथै, विभिन्न क्षेत्रका शैक्षिक, सामाजिक तथा अन्य व्यक्तित्वहरूलाई पनि कार्यक्रममा सहभागी गराई विद्यार्थीहरूको सीप र संस्थाको गुणस्तर प्रस्तुत गर्ने प्रयास गरिएको उहाँको भनाइ छ। उहाँले यस्ता कार्यक्रमहरू विद्यार्थीहरूको स्तर र क्षमता मूल्याङ्कन गर्ने आधारका रूपमा समेत उपयोगी हुने गरेको बताउनुभयो।

श्रीपेच इन्स्टिच्युटमा होटल म्यानेजमेन्टमा कुकिङ, प्रोफेसनल कुक, बारिष्टा, बेकरी, वेटर÷वेट्रेस, हाउस किपिङ, होटल असिस्टेन्ट लगायतका विभिन्न तालिम तथा अध्ययन कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्, जसले विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा आवश्यक ज्ञान र सीप प्रदान गर्दै आएको छ।

कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना छोराछोरीहरूले बनाएका स्वादिष्ट परिकारहरू चाख्न पाउँदा अत्यन्त खुसी व्यक्त गरेका छन्। उनीहरूले विद्यार्थीहरूको आतिथ्य, स्वागत शैली, सेवा भावना र व्यावसायिक सीपलाई नजिकबाट अवलोकन गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै संस्थाप्रति आभार प्रकट गरेका छन्।

कार्यक्रममा उपस्थित अतिथिहरूले पनि विद्यार्थीहरूले तयार पारेका परिकारहरूको स्वाद लिँदै खुसी व्यक्त गरेका छन्। यस्ता कार्यक्रमहरूले विद्यार्थी, अभिभावक, शिक्षक र संस्थाबीच समन्वयात्मक सम्बन्ध बलियो बनाउने तथा सकारात्मक शैक्षिक वातावरण निर्माण गर्न मद्दत पुग्ने उनीहरूको धारणा रहेको छ।