कञ्चनपुरको पुनर्वासमा शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई, कंचनपुरको आयोजना पुनर्वास १० र ११ का सामुदायिक तथा संस्थागत विद्यालयका अध्यक्ष र प्रधानाध्यापकहरूबीच अन्तरक्रिया भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले सामुदायिक र संस्थागत विद्यालयमा वर्तमान पाठ्यक्रम र शिक्षक निर्देशिका प्रयोगको अवस्था बारे जानकारी लिनुभएको थियो । यस्तै विद्यालय व्यवस्थापन समिति अध्यावधिक भए नभएको विषयमा समेत उहाँले चासो व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयहरूमा व्यवस्थापन समिति अध्यावधिक नभएको देखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै ईकाइ प्रमुख गिरीले हरेक वर्ष विद्यालय भर्ना अभियानका बेला चर्चामा आउने विषय विद्यालयले शुल्क लिने गरेको गुनासोहरू आउने गरेको बताउँदै अभिभावक सङ्ग सहयोग लिनु परेमा अभिभावकबाट नै अनुमोदन गर्नुपर्नेमा जोड दिनुभयो । हाम्रा विद्यालयहरू सरकारी विद्यालय मात्र नभएर सामुदायिक विद्यालय भएकाले समुदायबाट नै विद्यालय अघि बढाउनुपर्नेमा उहाँको तर्क थियो।

यस्तै कार्यक्रममा बोल्नुहुँदै शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टले सामुदायिक र संस्थागत विद्यालयमा कक्षा १ देखि ३ सम्म कार्यान्वयनमा रहेका एकीकृत पाठ्यक्रमको समीक्षा समेत गरिएको थियो । इकाइले एकैपटक सबै ठाउँमा पुगेर अन्तरक्रिया गर्न नसकिरहेको बताउँदै यसरी ठाउँ ठाउँमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरूबीच समसामयिक शैक्षिक गतिविधिबारे जानकारी लिन र सरकारबाट जारी भएका सूचनाहरू जानकारी गराउन समेत यस्ता खालका कार्यक्रमले सहयोग पुर्‍याउने उहाँले बताउनुभयो।

यस्तै कार्यक्रममा बोल्नुहुँदै श्री राष्ट्रिय माध्यमिक विद्यालय पुनर्वास ११ का प्रधानाध्यापक नबराज पाण्डेयले पाठ्यक्रम, एकीकृत पाठ्यक्रम, शिक्षक निर्देशिकाको परिचय र विद्यालय तहमा यसको कार्यान्वयन गर्नुपर्ने विषयमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरूले विद्यार्थी भर्ना अभियान को समयमा देखिएका समस्याहरु बारे चर्चा समेत गरेका थिए ।