कञ्चनपुरको पुनर्वासमा एक दिनै अपाङ्गता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा तथा प्रदेश पुनर्स्थापना केन्द्र धनगढीको आयोजना र पुनर्वास नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

अभिमुखीकरणमा पुनर्वास नगरपालिकामा विसं २०७८ सालको राष्ट्रिय जनगणना अनुसार १ हजार ९ सय ५३ जना अपाङ्गता भएका व्यक्तिहरू रहेको जानकारी गराइएको थियो। अहिले पुनर्वास नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूमध्ये ३५ जना अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपामा उपचाररत रहनुका साथै पुनर्स्थापनाको प्रक्रियामा रहेको देखिन्छ । पालिकाभित्र रहेका ११२ जना व्यक्तिहरूलाई उपचार तथा पुनर्स्थापना गर्न बाँकी रहेको तथ्याङ्कले देखाएको छ ।

कार्यक्रममा बोल्नुहुँदै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । विगतका वर्षहरूदेखि नै केन्द्रले पुनर्वास नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्यक्रम गर्दै आएको बताउनुभयो । तथ्याङ्कमा उल्लेखित व्यक्तिहरू लाई छिटोभन्दा छिटो उपचार तथा पुनर्स्थापनामा सहयोग गर्न समेत उहाँले केन्द्रलाई आग्रह गर्नुभयो।

त्यस्तै कार्यक्रममा बोल्नुहुँदै पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानाले आयोजक अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाको आयोजनामा वैशाख २० गते आइतबार शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हुन गइरहेको विषयमा चर्चा गर्नुभएको थियो। उहाँले केन्द्रले अपाङ्गता परीक्षण गरी आवश्यक उपचार र पुनर्स्थापनामा पालिकालाई सहयोग गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा पुनर्वास नगरपालिकाका जनप्रतिनिधिहरू, विभिन्न शाखाका कर्मचारीहरू, अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।