पुनर्वास नगरपालिकाद्वारा शाखा अधिकृत धौल राम सार्कीलाई विदाई तथा फेरि भेटौला कार्यक्रममा उच्च कदर तथा सम्मान व्यक्त गरिएको छ ।

पुनर्वास नगरपालिकाले लामो समयदेखि सार्वजनिक सेवामा समर्पित रही स्थानीय सरकारको संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा प्रभावकारी सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका शाखा अधिकृत धौल राम सार्कीलाई एक विशेष कार्यक्रमबीच उच्च कदर सहित सम्मान-पत्र प्रदान गरीएको हो । शुक्रबार पुनर्वास नगरपालिकामा आयोजित “विदाई तथा फेरि भेटौला कार्यक्रम” मा कर्मचारी, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाको उपस्थितिमा उहाँलाई सम्मान गरिएको हो ।

वि.सं. २०५३ साल असार ३१ गते सार्वजनिक सेवामा प्रवेश गर्नुभएका सार्कीले साविक कञ्चनपुर जिल्ला परासन गाउँ विकास समिति हुँदै पुनर्वास नगरपालिका स्थापनाको चुनौतीपूर्ण चरणमा संस्थापक निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलता पूर्वक निर्वाह गर्नुभएको थियो । कर्मचारी समायोजन ऐन, २०७५ अनुसार अधिकृत स्तर छैठौं तहमा रही उहाँले स्थानीय सरकारको प्रशासनिक सुदृढीकरण, संस्थागत विकास तथा जनसेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको नगरपालिकाले जनाएको छ।

हाल संघीय निजामती सेवाको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत पदमा पदोन्नति भई मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न जान लाग्नु भएका सार्कीप्रति नगरपालिकाले उच्च सम्मान व्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले धौला राम सार्कीको इमान्दारिता, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता तथा समर्पण भाव प्रशंसनीय रहेको बताउनुभयो । उहाँले आगामी प्रशासनिक यात्रा अझ सफल, प्रभावकारी र गौरवमय बन्न शुभकामना व्यक्त गर्नुभयो ।