कञ्चनपुरको बेलौरी क्षेत्रमा बढ्दो लागुऔषध दुव्र्यसन तथा मादक पदार्थ सेवन नियन्त्रणका लागि सशस्त्र प्रहरीले विद्यालय तहबाट नै जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बिहीबार बेलौरी –४ स्थित वात्सल्य विद्या निकेतनमा अध्ययनरत कक्षा ८, ९ र १० का करिब ९० जना विद्यार्थीहरूलाई लक्षित गर्दै लागुऔषध दुव्र्यसन र मादक पदार्थ सेवनबाट हुन सक्ने असर सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बेलौरीले जनाएको छ ।

गुल्मका अनुसार पछिल्लो समय किशोर–किशोरीहरू लागुऔषधको जोखिममा पर्न थालेपछि विद्यालय स्तरबाटै सचेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले जानकारी दिनुभयो ।

विद्यार्थीहरूलाई लागुऔषध सेवनले व्यक्तिको स्वास्थ्य, मानसिक अवस्था, पारिवारिक सम्बन्ध, सामाजिक जीवन तथा भविष्यमा पार्ने नकारात्मक असरबारे जानकारी गराएका उहाले बताउनुभयो । यस्तै लागुऔषधको प्रयोगले अपराध, हिंसा, आर्थिक समस्या तथा पढाइमा गिरावट आउने जस्ता समस्या निम्त्याउने भएकाले विद्यार्थीहरू सचेत र सतर्क रहन आवश्यक रहेको उहाँले   बताउनुभयो ।

विद्यार्थीहरू साथीको दबाब, गलत संगत, सामाजिक सञ्जालको दुरुपयोग तथा जिज्ञासाका कारण धेरै युवाहरू दुर्व्यसनतर्फ आकर्षित हुने गरेको उल्लेख गर्दै यस्ता गतिविधिबाट टाढा रहन समेत उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । साथै कुनै पनि शंकास्पद गतिविधि देखिएमा अभिभावक, शिक्षक तथा सुरक्षाकर्मीलाई जानकारी गराउन उहाँले विद्यार्थीहरूलाई सुझाव दिनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूलाई आत्मअनुशासन, सकारात्मक सोच, खेलकुद तथा सिर्जनात्मक गतिविधिमा सहभागी हुन प्रेरित गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले बेलौरी क्षेत्रका विभिन्न विद्यालयमा निरन्तर रूपमा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने जनाएको छ ।