कञ्चनपुरको पुनर्वास क्षेत्रमा सवारी व्यवस्थापनलाई थप व्यवस्थित र यात्रुमैत्री बनाउन अटो, ट्याक्सी तथा विद्युतीय रिक्सा चालकहरूलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरिएको छ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्ती र अस्थायी ट्राफिक प्रहरी पोस्ट डोकेबजारको पहलमा सवारी चालकहरूलाई गाडी नम्बर र सम्पर्क नम्बर उल्लेख गरिएका फ्लोरेसेन्ट ज्याकेट वितरण गरिएको हो ।  

उक्त कार्यक्रममा बोल्दै अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीका इन्चार्ज ट्राफिक प्रहरी वरिष्ठ हवल्दार दीपक बोहराले यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै चालकहरूको पहिचान सहज बनाउन फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरिएको बताउनुभयो ।

उहाँले सबै अटो, ट्याक्सी तथा ई–रिक्सा चालकहरूले आफ्नो सवारी साधनमा स्पष्ट रूपमा भाडादर सूची राख्नुपर्ने व्यवस्था पनि लागू गरिएको जानकारी दिनुभयो । यदि कसैले नियम पालना नगरे ट्राफिक प्रहरी नियम अनुसार कारबाही गरिने बताउनुभयो । 

कार्यक्रममा बोल्नु हुँदै सेती महाकाली यातायात प्रालिका अध्यक्ष प्रकाश बोगटीले सुरक्षित, मर्यादित र व्यवस्थित यातायात सेवा प्रवाहका लागि चालकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नयाँ व्यवस्थाले यात्रु र चालकबीच विश्वास बढाउनुका साथै सार्वजनिक यातायात सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय तथा यात्रुहरूले पनि यस कामको प्रशंसा गरेका छन्। यसबाट सवारीचालक पहिचान गर्न सजिलो हुनुका साथै यात्रु सुरक्षामा सुधार आउने र भाडासम्बन्धी विवाद न्यूनीकरण हुने अपेक्षा गरेका छन्। पुनर्वास क्षेत्रमा लागू गरिएको यो व्यवस्थाले सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने विश्वास गरिएको छ ।