कञ्चनपुरको बेलौरीमा सञ्चालन भइरहेको २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम अन्तर्गत बुधबार अग्नि सुरक्षा (Fire Safety Drill) तथा आगलागी नियन्त्रण (Fire Fighting Drill) सम्बन्धी विभिन्न व्यावहारिक अभ्यासहरू गरिएको छ । 

 

विपद्को समयमा तत्काल उद्धार तथा राहत कार्यमा खटिन सक्ने दक्ष स्थानीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको उक्त तालिममा सहभागी युवाहरूलाई आगलागीजन्य विपद् व्यवस्थापनका विभिन्न पक्षबारे प्रशिक्षण दिइएको सीमा सुरक्षा गुल्म बेलौरीका गुल्मपति योग्य बस्नेतले जानकारी दिनुभयो । 

तालिमका क्रममा प्रशिक्षार्थीहरूले आगलागी हुन सक्ने सम्भावित कारणहरूको पहिचान, आगो लाग्दा अपनाउनुपर्ने सुरक्षाका उपाय, विभिन्न प्रकारका अग्नि निभाउने उपकरण (Fire Extinguisher) को प्रयोग विधि, आगलागी नियन्त्रणका आधारभूत सीप तथा आपतकालीन अवस्थामा गरिने उद्धार कार्यसम्बन्धी अभ्यास गरेको बेलौरी नगरपालिकाले जनाएको छ ।

यसैगरी, Fire Fighting Drill अन्तर्गत आगो नियन्त्रणका लागि प्रयोग गरिने उपकरणहरूको प्रयोग, आगलागी प्रभावित क्षेत्रबाट सुरक्षित रूपमा उद्धार गर्ने तरिका, टोलीगत समन्वय तथा घटनास्थलमा अपनाउनुपर्ने सुरक्षा सावधानीबारे व्यावहारिक अभ्यास गराइएको थियो।

समुदाय स्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन भइरहेको उक्त तालिमले स्थानीय युवाहरूलाई जलजन्य विपद्, आगलागी, भूकम्पलगायत विभिन्न प्राकृतिक तथा मानवीय विपद्का समयमा प्रभावकारी रूपमा परिचालन हुन सक्षम बनाउने अपेक्षा गरिएको छ।