कञ्चनपुरको पुनर्वास नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । शुक्रबार पुनर्वास नगरपालिका सभा हलमा सम्पन्न घोषणा सभामा पालिकाले शून्यदेखि ५९ महिनासम्मका बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरेको जनाएको छ ।

 

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै, जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले सम्पूर्ण सरोकारवाला पक्षको सहकार्यले मात्र पूर्ण खोप सुनिश्चितता सम्भव भएको बताउनुभयो । विगतका दिनमा एउटा खोप नपाएर मर्नुपर्ने अवस्था रहेको सम्झदै अहिले सरकारले बालबालिकाको खोप सुनिश्चितताका लागि स्थानीय स्तरबाटै पहल गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपेन्द्र सिंह रावलले खोप सुनिश्चितता बालस्वास्थ्य सुरक्षाको मुख्य आधार रहेको बताउनुभयो । खोप बालबालिकाको रोगसँग प्रतिरक्षा गर्ने माध्यम भएको बताउँदै कसैले पनि आफ्ना बच्चाहरूलाई लगाउनुपर्ने खोप छुटाउन नहुने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले खोप अभियान सफल बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी र समुदायको संयुक्त प्रयासलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले अबका दिनमा पनि खोप अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो पालिकाभित्र कोही पनि खोपबाट वञ्चित हुन नपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले ड्रपआउट रहेका १६ जना बालबालिकालाई खोप लगाइ पूर्ण खोप सुनिश्चितता गर्न सफल भएको बताउनुभयो ।

यस पूर्णखोप सुनिश्चितता घोषणासभाले पुनर्वास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिकाको रूपमा उभ्याएको छ। पूर्णखोप सुनिश्चिता घोषणा गर्न सहयोग पुर्‍याउने पुनर्वास नगरपालिकाका ११ वटा आधारभूत वडा स्वास्थ्य केन्द्रलाई समेत पालिकाले सम्मान गरेको छ ।