बिहानको करिब ९:३० बजेको हुँदो हो । कैलाली र बर्दीया जिल्ला छुट्टीने चिसापनी स्थित कर्णाली पुल मुनि नदिको बीच बहावमा “बचाऊँ… बचाऊँ…” भन्दै संघर्ष गरिरहेका चार जना व्यक्तिको दृश्यले एकछिनका लागि सबैलाई झस्कायो। नदी किनारमा सशस्त्र प्रहरी बल, नेपालको उद्धार टोलीको दौडधुप देखिन्थ्यो । सडक किनार र पुलमाथि उत्सुक करिब २०० सर्वसाधारणको भीड र बहावसँग जुध्दै उद्धारमा खटिएका सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरूको शाहसिक प्रदर्शनले वास्तविक विपद्कै अनुभूति गरायो । यद्यपि, यो कुनै दुर्घटना नभई सशस्त्र प्रहरी बल, नेपालद्वारा आयोजित सबै सुरक्षा निकायहरुको सहभागीतामा जल उद्धार सम्बन्धी संयुक्त कृत्रिम अभ्यास थियो । जसले विपद् प्रतिकार्यमा सुरक्षा निकायहरूको तयारी र दक्षतालाई प्रस्तुत गरेको थियो।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजना र अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायहरुको सहकार्यमा जिल्ला कैलाली लम्कीचुहा नगरपालिका-३, चिसापानी स्थित कर्णाली नदीमा विभिन्न खोज तथा उद्धारका कलाहरु प्रदर्शन गरी जल उत्पन्न प्रतिकार्य सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न भएको थियो । उक्त अभ्यासका क्रममा नदीमा आएको आकस्मिक बाढीका कारण केही व्यक्तिहरु बगेको काल्पनिक अवस्था सृजना गरिएको थियो । त्यस पछि सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया कैलालीको उद्दार टोलीले रवर बोट, लाइफ ज्याकेट, थ्रो व्याग, रोप रेस्क्यू प्रविधिको प्रयोग गरी उद्दार कार्य गरेको थियो ।

ईम्प्रोभाईज्ड फ्लोटिङ्ग डिभाईसको प्रदर्शनीसँगै अभ्यास शुरु भए संगै बाढी र डुवानका बेला आफ्नै गाउँ घरमा पाईने विभिन्न स्थानीय सामग्रीहरुको प्रयोग गरी कसरी बच्न र उद्दार गर्न सकिन्छ भन्ने दृश्य देखाइएको थियो । जस अन्तर्गत केराको थाम, म्याट्रेस, ट्यूव, लाइफ ज्याकेट, डोरी आदीको प्रयोग गरी कसरी उद्दार गर्न सकिन्छ भनेर देखाईएको थियो । अभ्यासको मध्य खण्डमा अविरल बर्षाका कारण गाउँमा बाढी आई घर सहित ४ जना व्यक्तिहरु बगेको दृश्य देखाइएको थियो । बगेका ४ जना मध्ये २ जनालाई सिलिथेरिङ्ग मेथड मा मोटर वोटको सहायताबाट उद्दार गरिएको थियो भने २ जनालाई र्‍याफ्ट बोटद्धारा भिक्टिम क्यारी मेथड र थ्रो ब्याग प्रयोग गरी उद्दार गरिएको थियो, भने राफ्ट पल्टिदा कसरी हेण्डल गर्न सकिन्छ भनेर फिलिप/रि-फिलिप को समेत पर्दशन भएको थियो ।

अभ्यासको तेस्रो खण्डमा केही स्थानीय व्यक्तिहरु कर्णाली नदिको किनारमा माछा मार्दै गरेको दृश्य देखाइएको थियो । सोही क्रममा १ जना व्यक्ति (माझी) डुबेको देखिन्छ  र अन्य व्यक्तिहरुले सशस्त्र प्रहरी बल, नेपालको टोल फ्री नम्बर १११४ मा फोन गरी जानकारी गराउँछन। मान्छे बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीमै रहेको गोताखोर टिम परिचालन गरी डुवेका व्यक्तिको सकुशल उद्दार गरेको दृश्य देखाइएको थियो । उद्धारपश्चात उनीहरूलाई प्राथमिक स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानमा राखिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले विपद् व्यवस्थापनमा पूर्वतयारी, समन्वय र दक्ष जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताए । बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्का घटनाहरू वर्षेनि दोहोरिने भएकाले सुरक्षा निकाय, स्थानीय तह र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गरे । यस्ता संयुक्त कृत्रिम अभ्यासहरूले वास्तविक विपद्को समयमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विपद् प्रतिकार्यमा संलग्न सम्पूर्ण निकायहरूको क्षमता अभिवृद्धिका लागि नियमित अभ्यास आवश्यक रहेको मन्त्री सार्कीले बताए । 

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक दिग विजय सुवेदीले विपद् व्यवस्थापन सशस्त्र प्रहरी बल, नेपालको प्रमुख जिम्मेवारी मध्ये एक भएको बताउँदै विपद् व्यवस्थापनमा एकल प्रयासभन्दा पनि अन्तरनिकाय समन्वय, सहकार्य र सामूहिक प्रतिबद्धता आवश्यक पर्ने उल्लेख गरे । यस्ता कृत्रिम अभ्यासहरूले वास्तविक विपद्को समयमा प्रभावकारी खोज, उद्धार तथा राहत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरे । 

सशस्त्र प्रहरी नायव महानिरिक्षक सुबेदीले अभ्यासमा सहभागी नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, समुदाय विपद स्वयंसेवक, बिपद सुचक तथा सम्पूर्ण सरोकारवाला निकायहरूको सक्रिय सहभागिताको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए । 

साथै, सशस्त्र प्रहरी बल, नेपाल नागरिकको जिउधनको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै विपद्को कुनै पनि अवस्थामा खोज, उद्धार तथा राहत कार्यका लागि चौबीसै घण्टा तयारी अवस्थामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा लम्कीचुहा नगरप्रमुख सुशिला शाही, प्रहरी नायब महानिरिक्षक ओम राना, एसएसपि निरकृष्ण अधिकारी लगायत २५० भन्दा बढीको उपस्थित रहेको थियो ।