कञ्चनपुरको पुनर्वास- ८ स्थित क गाउँमा श्रीनिवास दिव्यधामको आयोजनामा माघ २३ गतेदेखि फागुन १६ गतेसम्म आयोजना गरिएको २१ दिने चतुर्वेद परायण एवं चतुष्कुण्डात्मक महायज्ञसहित अष्टोत्तरशत (१०८) श्रीमद्भागवत सम्पूट परायण महाअनुष्ठान महोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै श्रीनिवास दिव्यधामको प्राङ्गणमा आयव्यय प्रस्तुत गरिएको थियो । अनुष्ठान अवधिभर र हालसम्म श्रीनिवास दिव्यधामबाट २ करोड ४२ लाख ३१ हजार ५ सय २ रुपैया ९९ पैसाको कारोबार भएको देख्न सकिन्छ ।

आय व्यय प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष शिवप्रसाद घिमिरेले अनुष्ठानमा ९० लाख १७ हजार ४ सय ३६ रुपैया ठेलीबाट आम्दानी भएको बताउनुभयो । यस्तै स्वामीजी सष्टाङ्ग मार्फत ७ लाख ७४ हजार १ सय रूपैयाँ आम्दानी भएको र दान पात्रमा ४ लाख ६९ हजार ३७५ रुपैया जम्मा भएको उहाँले जानकारी दिनुभयो। यस्तै विविधतर्फ धान बिक्री कपडा र चामल बिक्री मार्फत ४ लाख ९२ हजार ५ सय २५ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।  यस्तै सो अवधिमा काम भइसकेको र भुक्तानी दिनुपर्ने बाँकी ५५ लाख ८० हजार २ सय १२ रुपैया रहेको जानकारी दिँदै तिर्नुपर्ने ऋण सापटी ३३ लाख ९७ हजार १ सय ४४ रुपैयाँ रहेको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै श्रीनिवास दिव्यधामका संरक्षक गोविन्द आचार्यले महाअनुष्ठान लाई सम्पन्न गराउन आआफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो। श्रीनिवास दिव्यधामले संकल्प गरेको योजना क्रमसँगै पूरा हुँदै आएको उहाँले बताउनुभयो । 

यस्तै सोही अवसरमा बोल्नुहुँदै पुनर्वास ८ का वडाध्यक्ष राना श्रवणले दिव्यधामको विकासका लागि करोडौं रुपैयाँ आवश्यक पर्ने बताउँदै, केन्द्र सरकारले नै दिव्यधाममा बजेट विनियोजन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले आफ्नो वडाको पुरै बजेट दिव्यधाममा खर्च गरेपनि दिव्यधामको पूर्ण निर्माण गर्न नसकिने बताउनुभयो। तर स-साना कामहरूमा आफू र वडाबाट गर्न सकिने सहयोग गर्न सधैँ तत्पर रहेको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। 

 

यस्तै पत्रकार सम्मेलनमा बोल्दै श्रीनिवास दिव्यधामका अध्यक्ष बिश्वनाथ बिष्टले कु‌नैपनि नामले भूगोलको पहिचान झल्काउने बताउँदै श्रीनिवास दिव्य धामले पुनर्वास नगरपालिकाको नाम र पहिचान नेपाल भरि प्रख्यात हुने बताउनुभयो । उहाँले पनि महा अनुष्ठान सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो । 

 पत्रकार सम्मेलनमा समाजसेवी शंकर बहादुर केसि , बयोवृद्ध झम्कनाथ सुवेदी लगायत भक्तजनहरूको उपस्थिति रहेको थियो। । दिव्य धाम सञ्चालक समितिका महासचिव छबिलाल खनियाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वामी गोविन्द अवस्थिले गर्नुभएको थियो