कञ्चनपुरको पुनर्वास नगरपालिकामा जारीे ३९० घण्टाको कफी बारिस्टा र वेटर तालीम सम्पन्न भएको छ । पुनर्वास नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा करिब तीन महिनासम्म सञ्चालन भएको उक्त तालीमबाट पुनर्वास नगरपालिकाका ४० जना युवा–युवतीले आतिथ्य (हस्पिटालिटी) क्षेत्रसँग सम्बन्धित व्यावसायिक सीप हासिल गरेका छन् । मंगलबार एक कार्यक्रमका बिच पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यतामा उक्त तालीमको समापन गरीएको हो ।

 तालीम समापन कार्यक्रममा बोल्नु हुदै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले सीप प्राप्त गर्नु मात्र पर्याप्त नभई त्यसलाई रोजगारी र उद्यमसँग जोड्नुपर्नेमा जोड दिनुभयो । तालीमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै स्वदेशमै रोजगारी सिर्जना गर्न तथा आवश्यक परे आफ्नै व्यवसाय सञ्चालन गर्न उहाँले सहभागीहरूलाई आग्रह गर्नुभयो । यदी तालीममा सहभागीहरूले सिप सिकेर ब्यवसाय गर्न चाहे पालिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा पुनर्वास–६ का वडाध्यक्ष मित्र सिंह लामाले तालीमबाट प्राप्त सीपलाई व्यक्तिगत लाभमा मात्र सीमित नराखी समुदायमा समेत विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । सिकेको सीप अरू युवालाई पनि हस्तान्तरण गर्न सके स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन हुने र स्वरोजगारका अवसर बढ्नेमा उहाँले जोड दिनुभयो । उहाँले नगरपालिकाले सञ्चालन गर्ने यस्ता सीपमूलक कार्यक्रम सबै वडाका युवाको समान पहुँचमा पुग्ने गरी योजना बनाउन समेत आग्रह गर्नुभयो ।

यस्तै, पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले नगरपालिकाले सीप सिकेका युवाहरूलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । आगामी दिनमा वडा स्तञरसम्म सीपमूलक कार्यक्रम विस्तार गर्दै बढीभन्दा बढी युवालाई सहभागी गराइने उहाँले बताउनुभयो । कार्यक्रममा प्रशिक्षकहरूले तालीम अवधिमा सहभागीहरूले कफी बनाउने आधुनिक विधि, ग्राहक सेवा, आतिथ्य व्यवस्थापन, सरसफाइ, सेवा शिष्टाचार तथा व्यावसायिक आचरण लगायत विषयमा व्यावहारिक र सैद्धान्तिक ज्ञान हासिल गरेको जानकारी गराउनुभयो । सीपसँगै आत्मविश्वास र पेशागत दक्षता विकास गराउने उद्देश्य अनुसार तालीम प्रभावकारी रूपमा सम्पन्न भएको प्रशिक्षकहरूले बताउनुभयो।

तालीममा सहभागी प्रशिक्षार्थीहरूले सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर रोजगार तथा स्वरोजगारको क्षेत्रमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ३९० घण्टाको कफी बारिस्टा तथा वेटर तालीमले आफ्नो भबिष्यको नयाँ ढोका खोलेको भन्दै खुशी व्यक्त गरेका छन् । कतिपय सहभागीले होटल, रेष्टुरेन्ट तथा क्याफे क्षेत्रमा रोजगारी गर्ने योजना रहेको बताएका छन् भने केहीले भविष्यमा आफ्नै कफी तथा होटल, रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने लक्ष्य रहेको बताएका छन् ।

रोजगार सेवा केन्द्रले सञ्चालन गरेको उक्त तालीमले स्थानीय युवामा व्यावसायिक सीप विकास गरी रोजगारका अवसर सिर्जना गर्न महत्वपूर्ण भुमीका खेलेको विश्वास व्यक्त गरिएको छ । प्रशिक्षार्थीहरुलाई तालीम सिकेको प्रमाण पत्र समेत उपलब्ध गराइएको थियो ।