कञ्चनपुरको भिमदत्त र शुक्लाफाटामा बस्दै आएका दिदीभाईले जन्मदिनको अवसर पारेर २५ जना विद्यार्थीहरूलाई विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाँसी निवासी तथा नेहा पुस्तक पसल, गुलरियाकी सञ्चालक मञ्जु भट्ट र शुक्लाफाँटा नगरपालिका–७, जुडा निवासी तथा पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी कृष्ण भट्टले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो।

श्रावण १५ गते जन्मोत्सवको अवसर पारेर उहाँहरुले शुक्लाफाटा-७ मा रहेको श्री धर्म जनता माध्यमिक विद्यालय, स्टेशनपुरमा अध्ययनरत २५ जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

 

“जन्मदिनलाई सेवामय बनाउने प्रेरणादायी अभियान” अन्तर्गत गरिएको उक्त सहयोगले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरिएको पुनर्वास नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी कृष्ण भट्टले बताउनुभयो । कार्यक्रममा जन्मदिनको वास्तविक सौन्दर्य समाजप्रतिको उत्तरदायित्व र सेवाभावमा निहित रहेको सन्देश समेत दिइएको उहाँले बताउनुभयो ।

यस्तै स्थानीय स्तरमा सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यस कार्यको विद्यालय परिवार, अभिभावक तथा स्थानीयवासीले समेत प्रशंसा गरेका छन् । सामाजिक कार्यमार्फत जन्मदिन मनाउने यस्तो अभियानले अन्य व्यक्तिलाई पनि सेवामूलक कार्यमा प्रेरित गर्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।