कञ्चनपुरको पुनर्वास नगरपालिका–४ को सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सीमा सुरक्षालाई प्रभावकारी बनाउने विषयमा सीमा सहजीकरण सम्बन्धी बैठक सम्पन्न भएको छ ।  शुक्रबार पुनर्वास नगरपालिका–४ का वडा अध्यक्ष मनोज जैशीको अध्यक्षतामा बीओपी आपतालमा सीमा सहजिकरण समितिको बैठक बसेको हो ।

बैठकमा नेपाल–भारत दशगजा क्षेत्रको सीमा सुरक्षा, सीमा विवाद तथा अतिक्रमण, सीमा अपराध र अवैध गतिविधि नियन्त्रणका साथै चोरी–तस्करी नियन्त्रण, लागूऔषधको दुर्व्यसन तथा ओसारपसार नियन्त्रण, धार्मिक स्थलको संरक्षण र मलखाद आपूर्तिलगायतका विषयमा छलफल गरिएको बीओपी आँपतालको प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहोराले  जानकारी दिनुभयो ।

बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित पक्षबीच आवश्यक समन्वय र सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सीमा क्षेत्रमा नियमित गस्ती तथा निगरानी बढाउने र कुनै किसिमको सीमा विवाद वा समस्या देखिएमा सम्बन्धित निकायसँग तत्काल समन्वय गरी समाधान गर्ने निर्णय समेत गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, लागूऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सीमा क्षेत्रमा चोरी–तस्करी नियन्त्रण गर्न सुरक्षा निगरानी बढाउने तथा अवैध रूपमा हुने गतिविधि माथि कडाइ गर्ने निर्णय भएको सशस्त्र प्रहरी निरीक्षक  बोहराले जानकारी दिनुभयो ।

बैठकमा स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकमा सीमा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपायबारे समेत छलफल गरिएको थियो ।