जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा स्थानीय समुदायको सुरक्षा र उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले कञ्चनपुरको पुनर्वास नगरपालिकामा ठूलो परिमाणमा खोज तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ । पुनर्वास नगरपालिकाको समन्वय तथा प्राक्टिकल एक्सन (Practical Action) र पेसवान कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ (CRP) अन्तर्गत नगरपालिकाका ९ वटा वडा र स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (LEOC) का लागि सामग्री हस्तान्तरण गरिएको हो।

परियोजनामार्फत यस वर्ष वडा नं। १, ३, ४, ६, ७, ८, ९, १० र ११ तथा (LEOC) का लागि ६ लाख २६ हजार ८२ रुपैयाँ बराबरका २७ प्रकारका ४३८ थान विपद् व्यवस्थापन सामग्री उपलब्ध गराइएको छ । यसअघि गत वर्ष वडा नं. २ र ५ मा समेत यस्ता सामग्री उपलब्ध गराइसकिएको थियो। यससँगै पुनर्वास नगरपालिकाका सबै ११ वटै वडामा न्यूनतम खोज तथा उद्धार सामग्री उपलब्ध भएको पालिकाको बिपद् फोकल पर्सन ओमनाथ ढकालले जानकारी दिनुभयो । विपद् व्यवस्थापन सामग्री हस्तान्तरण कार्यक्रममा सम्बन्धित वडाका सामग्री वडा अध्यक्ष तथा सचिवहरूलाई हस्तान्तरण गरिएको थियो भने (LEOC) का औजार तथा उपकरण पुनर्वास नगरपालिकाको नगर प्रमुख तोयप्रसाद शर्मालाई हस्तान्तरण गरिएको थियो।

उपलब्ध सामग्रीमा लाइफ ज्याकेट, अग्निशामक यन्त्र, स्टेचर, कमर्सियल चेनस, रेस्क्यु डोरी, सेफ्टी हेल्मेट, बुट, टर्चलाइट, प्राथमिक उपचार बाकस लगायत खोज तथा उद्धारका लागि आवश्यक २७ प्रकारका सामग्री रहेका छन्। विपद्का समयमा समुदायस्तरमै तत्काल उद्धार कार्य सञ्चालन गरी जनधनको क्षति न्यूनीकरण गर्न यी सामग्रीले वडा तथा स्थानीय आपतकालीन केन्द्रको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सामग्री बुझ्दै नगर प्रमुख शर्माले विपद् व्यवस्थापन जस्तो संवेदनशील क्षेत्रमा सहयोग र साझेदारी गरेकोमा प्राक्टिकल एक्सन तथा पेसवान कञ्चनपुर प्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त सामग्रीको उचित सदुपयोग गर्दै नगरपालिकाको विपद् पूर्वतयारीलाई थप प्रभावकारी बनाइने बताउनुभयो। नगर प्रमुख शर्माले आगामी दिनमा समेत समुदाय केन्द्रित उत्थानशील कार्यक्रमका लागि नगरपालिकाले आवश्यक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।