कञ्चनपुरको पुनर्वास–११, भीमबस्तीमा रहेको पपुलर इङ्लिस बोर्डिङ स्कुलले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका पीडित परिवारको पीडामा साथ दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत सहयोग गरेको छ ।

स्कुलका विद्यार्थी, शिक्षक तथा अभिभावकहरु समेत मिलेर विद्यालय परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १ सय ११ रूपैयाँ सहयोग रकम प्रदान गरेको छ ।

विद्यार्थीहरूमा मानवीय सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले राहत सहयोग गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल विष्णु न्यौपानेका अनुसार, विपद्को समयमा पीडित परिवारको साथमा उभिनु सबैको सामाजिक दायित्व हो ।

सानो सहयोगले पनि पीडामा परेका परिवारलाई राहत र आशा प्रदान गर्न सक्ने भएकाले विद्यालय परिवारले आफ्नो क्षमता अनुसार सहयोग गरेको उहाँले बताउनुभयो ।

न्यौपानेले सहयोगमा सहभागी विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका कार्यमा विद्यालय सक्रिय रहने बताउनुभयो ।

एकता, सहकार्य र मानवताको भावना नै आफूहरुको पहिचान भएको विद्यालयले जनाएको छ ।