भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले पुनर्वास नगरपालिका–५ स्थित भिमसेन सामुदायिक विपद् व्यवस्थापन समितिले प्रधानमन्त्री राहत कोषमा नगद रु. ३३ हजार ७ सय ६५ रुपैया सहयोग गरेको छ ।

 

प्राकृतिक विपद्का कारण पीडित बनेका परिवारको दुःखमा साथ दिँदै समितिले स्वतःस्फूर्त रूपमा उक्त रकम सहयोग गरेको समितिका अध्यक्ष मन्त्री रानाले जानकारी दिनुभयो । बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम जम्मा गरिएको उहाँले बताउनुभयो । 

सहयोग प्रति पुनर्वास नगरपालिका स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र समितिले भिमसेन सामुदायिक विपद् व्यवस्थापन समितिप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको पालिकाको विपद् फोकल पर्सन ओमनाथ ढकालले जानकारी दिनुभयो ।

विपद्को समयमा मानवीय सहयोग र सामाजिक एकताको भावना प्रदर्शन गर्दै गरिएको यस सहयोगले प्रभावित परिवारको राहतमा केही भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।