कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीमबस्ती स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्य प्रसूति तथा सुरक्षित मातृत्व सेवा सुरु भएपछि स्थानीय नागरिकलाई सहज भएको  छ । वडा नम्बर १० र ११ का नागरिकलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको बर्थिङ सेन्टरमा अहिले दैनिकजसो गर्भवती, सुत्केरी तथा उनीहरूका परिवारका सदस्यहरू पुग्ने गरेका छन् ।

गत वर्ष मङ्सिर १ गतेदेखि सेवा सुरु भएको बर्थिङ सेन्टरमा हालसम्म ३८ जना महिलाहरुले सुत्केरी सेवा लिएका छन् । बर्थिङ सेन्टर स्थापना भएको एक वर्ष पूरा नहुँदै स्थानीयका लागि भरोसाको केन्द्र बन्दै गएको हो ।

गत मङ्सिर देखि असार सम्म २४ जनाले बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिएका थिए भने चालु आर्थिक वर्षको साउन देखि भदौ १९ गतेसम्म थप १४ जनाले सेवा लिएको आधारभूत वडा स्वास्थ्य केन्द्र भीमबस्तीका ईन्चार्ज हरिभक्त अवस्थीले जानकारी दिनुभयो । चौबिसै घण्टा सेवा दिनुपर्ने भएकाले गर्भवती महिलालाई आवश्यक समयमा सेवा उपलब्ध गराउन स्वास्थ्य केन्द्र प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

आधारभूत स्वास्थ्य केन्द्र भीमबस्तीको सिनियर अनमी चन्द्रा कुमारी न्यौपानेले बर्थिङ सेन्टर सञ्चालन पछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको बताउनुभयो ।
उहाँका अनुसार भदौ १९ गते कृष्ण जन्माष्टमीको दिन मात्रै दुई जना महिलाले बर्थिङ सेन्टरमा सफलतापूर्वक सुत्केरी सेवा लिएका छन् । कृष्ण जन्माष्टमीको व्रतको दिनमा समेत सेवा प्रदान गर्न पाउँदा आफूहरू खुशी भएको सिनियर अनमी न्यौपानेले बताउनुभयो ।

स्थानीय स्तरमै सामान्य प्रसूति तथा सुरक्षित मातृत्व सेवा उपलब्ध भएपछि गर्भवती महिलालाई टाढा जानुपर्ने बाध्यता कम भएको छ । बर्थिङ सेन्टरमा सेवा लिन आउनेको संख्या बढ्दै गएसँगै यस क्षेत्रका नागरिकका लागि स्वास्थ्य केन्द्र महत्वपूर्ण आधार बन्दै गएको छ ।