कञ्चनपुरको पुनर्वास नगरपालिकाको केही वडामा जापानिज इन्सेफलाइटिसका बिरामी भेटिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले रोगको रोकथाम तथा नियन्त्रणका गतिविधिलाई तीव्र बनाएको छ । जनचेतना अभिवृद्धि, लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियान, समुदाय परिचालन र रोग निगरानीलाई एकीकृत गर्दै पालिका स्तरमा अभियान सञ्चालन गरेको छ ।

 

यसैक्रममा पुनर्वास नगरपालिका–१ को पुरैना क्षेत्रमा जापानिज इन्सेफलाइटिस रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतना, लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने तथा समुदाय परिचालन कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यक्रममा वडा नं. १ स्थित कालिका स्वास्थ्य चौकीका प्रमुख मञ्जु खड्काको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली सक्रिय रूपमा सहभागी भएको थियो । कालिका स्वास्थ्य चौकीका प्रमुख खड्काले जापानिज इन्सेफलाइटिस रोकथामका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले घर तथा वरपर पानी जम्न नदिने, लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, व्यक्तिगत सुरक्षाका उपाय अपनाउने तथा शंकास्पद लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुग्ने विषयमा समुदायलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।


यस्तै पुनर्वास नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत यज्ञ खड्काका अनुसार जापानिज इन्सेफलाइटिस जापानिज इन्सेफलाइटिस भाइरस (JEV) का कारण हुने लामखुट्टेबाट सर्ने भाइरल रोग हो । JEV फ्लाभिभाइरस समूह अन्तर्गत पर्ने आरएनए भाइरस हो । संक्रमणले मस्तिष्कमा सूजन तथा क्षति गराउन सक्ने भएकाले गम्भीर अवस्था र मृत्युको जोखिम बढी हुने उहाँले बताउनुभयो ।

“जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग भएकाले सामान्य अवस्थामा यसको उपचारमा एन्टिबायोटिकको भूमिका हुँदैन । यसको उपचारका लागि नियमित रूपमा प्रयोग गर्न मिल्ने विशिष्ट भाइरस विरोधी औषधि उपलब्ध छैन,” खड्काले भन्नुभयो, “त्यसैले उच्च ज्वरोसँगै टाउको दुख्ने, वाकवाकी वा बान्ता हुने, बेहोस हुने, झट्का आउने, असामान्य व्यवहार वा चेतनाको स्तरमा परिवर्तन हुनेजस्ता शंकास्पद लक्षण देखिएमा जथाभावी एन्टिबायोटिक सेवन नगरी तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक परीक्षण तथा उपचार गराउनुपर्छ।”

जेईको उपचार मुख्यतः लक्षणअनुसारको सहयोगात्मक उपचारमा आधारित हुने भएकाले संक्रमण हुन नदिनु, उपलब्ध अवस्थामा खोप लगाउनु, लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको प्रजननस्थल नियन्त्रण गर्नु महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। जेईको प्राकृतिक संक्रमण चक्रमा मुख्यतः सुँगुर, विभिन्न पानीमा बस्ने चराचुरुङ्गी तथा Culex जातका लामखुट्टे संलग्न हुन्छन्। संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा भाइरस सर्न सक्छ। मानिसमा भाइरसको मात्रा सामान्यतया अर्को लामखुट्टेलाई संक्रमण गराउन पर्याप्त नहुने भएकाले मानिसलाई ‘डेड–इन्ड होस्ट’ अर्थात् संक्रमण चक्रलाई अगाडि बढाउन नसक्ने होस्ट मानिन्छ।

खड्काका अनुसार जेई नियन्त्रणका लागि कुनै एउटा मात्र उपाय पर्याप्त हुँदैन। खोप, लामखुट्टे नियन्त्रण, व्यक्तिगत सुरक्षा, वातावरणीय सरसफाइ, रोग निगरानी र समुदायको सक्रिय सहभागितालाई एकसाथ अघि बढाउन आवश्यक हुन्छ। “जेई पानी, खाना, हात मिलाउँदा, बिरामीलाई छुँदा वा सामान्य मानिस–मानिस सम्पर्कबाट सर्ने रोग होइन,” उहाँले स्पष्ट पार्नुभयो।

स्वास्थ्य शाखाले खेतबारीमा काम गर्दा हातखुट्टा छोपिने लुगा लगाउने, झ्यालढोकामा जाली प्रयोग गर्ने, आवश्यकताअनुसार लामखुट्टे भगाउने पदार्थ प्रयोग गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ । साथै घर तथा समुदायमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जम्ने भाँडाकुँडाको उचित व्यवस्थापन गर्ने, सुँगुरको खोर वरपर सरसफाइ गर्ने र लामखुट्टेको सम्भावित प्रजननस्थल नियमित रूपमा खोजी गरी नष्ट गर्न अनुरोध गरिएको छ ।

जेईको जोखिम देखिएपछि स्वास्थ्य शाखाले बिरामी सम्बन्धी सूचना सङ्कलन, बिरामीको विस्तृत अनुसन्धान, सक्रिय निगरानी, रोगको फैलावट तथा जोखिम सम्बन्धी अध्ययन, लामखुट्टे तथा वातावरण सम्बन्धी अध्ययन, जोखिम सञ्चार, लार्भा खोजी तथा प्रजननस्थल नष्ट गर्ने कार्य, आवश्यक लामखुट्टे नियन्त्रण तथा खोपको अवस्थाको समीक्षा लगायतका गतिविधि समन्वयात्मक रूपमा अघि बढाइरहेको जनाएको छ ।

स्वास्थ्य शाखाका अनुसार जोखिम भएका क्षेत्रमा नियमित निगरानी, समुदायस्तरमा जोखिम सञ्चार तथा लामखुट्टेको प्रजननस्थल पहिचान र व्यवस्थापनलाई निरन्तरता दिइनेछ।

कार्यक्रममा सहभागी स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दीपेन्द्र सिंह रावलले जेई लगायतका संक्रामक रोग नियन्त्रणका लागि स्थानीय तह, स्वास्थ्य संस्था, समुदाय तथा सरोकारवाला निकायबीच निरन्तर समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँको नेतृत्वमा स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीसमेत कार्यक्रममा सहभागी भएको थियो। टोलीमा स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकल व्यक्ति जनक कुँवर तथा किटजन्य रोगका फोकल व्यक्ति सिद्धराज भट्ट लगायत सहभागी हुनुभएको थियो ।

 

 

 

 

 

कार्यक्रममा पुनर्बास नगरपालिका–११ का वडाध्यक्ष तथा नगर प्रवक्ता तुलसी अर्याल र वडा नं. १ का वडाध्यक्ष मोहनलाल रानाले रोग नियन्त्रणका लागि स्थानीय स्तरबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ! स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले जेईको जोखिमलाई स्वास्थ्य शाखाको मात्र विषयका रूपमा नलिई समग्र पालिकाको साझा समस्याका रूपमा लिएर सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । यो रोग नियन्त्रण स्वास्थ्यकर्मीको प्रयासले मात्र सम्भव हुँदैन। जनप्रतिनिधि, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि र समुदाय सबैको संयुक्त प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो ।

जेई रोकथाम तथा नियन्त्रण अभियानमा पुनर्बास नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी कृष्ण भट्ट, योजना शाखा प्रमुख शंकर बोगटी, विपद् व्यवस्थापन शाखा प्रमुख ओमनाथ ढकाल, जनप्रतिनिधि, शिक्षक, नगरपालिका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय समुदायको सहभागिता रहेको थियो ।

सो अभियानलाई सफल पार्न इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीको नेतृत्वमा प्रहरी समेत सहभागी हुनुभएको थियो। भने सशस्त्र प्रहरी बलको समेत उपस्थिति रहेको थियो। सुरक्षा निकायका प्रतिनिधिले रोग नियन्त्रण तथा विपद्सँग सम्बन्धित यस्ता अभियानमा आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वास्थ्य शाखाका अनुसार कार्यक्रममा ७० जना भन्दा बढीको सहभागिता रहेको थियो । स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक जयबन्धु अर्यालका अनुसार पुनर्बास नगरपालिका स्वास्थ्य शाखाले जेई रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन गरिरहेको जनचेतना, लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने, समुदाय परिचालन तथा रोग निगरानी अभियानलाई निरन्तरता दिनेछ।
यसैबीच, विश्व स्वास्थ्य संगठन (WHO) ले पुनर्बास नगरपालिकामा जेईसम्बन्धी निगरानी तथा प्राविधिक सहजीकरणमा सहयोग गरिरहेको स्वास्थ्य शाखाले जनाएको छ । WHO को टोलीले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा स्थलगत निगरानी, अवस्थाको मूल्याङ्कन, समन्वय तथा आवश्यक प्राविधिक परामर्श उपलब्ध गराइरहेको जनाइएको छ ।