देशमा परिवर्तन होस,जनता सुखी बनुन र नेपाल समृद्ध बनोस,यो हरेक नेपालीको चाहना हो। यही सपना बोकेर नेपाली जनताले विभिन्न कालखण्डमा संघर्ष गरे, बलिदान दिए र राजनीतिक दलहरूलाई विश्वास गरे। तर व्यवस्था परिवर्तनपछि पनि जनताको अवस्था अपेक्षाअनुसार परिवर्तन हुन नसक्नु आजको गम्भीर प्रश्न हो।

आखिर समस्या कहाँ छ? व्यवस्था, नेतृत्व, राजनीतिक संस्कार कि हाम्रो आफ्नै सोच र ब्यवहारमा ?अनुत्तरित प्रश्न आज धेरै छन । पुराना राजनीतिक दलहरूको नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान छ। तिनका संघर्ष र बलिदानलाई बिर्सन मिल्दैन। तर इतिहासमा गरेको योगदानकै आधारमा वर्तमानका सबै कमजोरीलाई ढाकछोप गर्न पनि मिल्दैन।

लामो समय सत्तामा पुगेका दलहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र जनताको जीवनस्तर सुधारमा अपेक्षित परिणाम दिन नसकेको गुनासो व्यापक छ। नेतृत्वमा पुस्तान्तरणको अभाव, आन्तरिक गुटबन्दी, सत्ताकेन्द्रित राजनीति र जनताप्रतिको कमजोर जवाफदेहिताले राजनीतिक दलहरूप्रतिको विश्वास घटाएको छ।

इतिहासमा गरेको योगदान सम्मानको विषय होला,तर वर्तमानको जिम्मेवारीबाट उम्किने अब कसैलाई छुट हुन्न। नयाँ दललाई प्रश्न: अब नाम मात्र नयाँ कि जिम्मेवारी र नयाँ संस्कार पनि चाहिन्छ?

पुराना दलका कमजोरीबाट निराश भएका जनताले नयाँ राजनीतिक शक्ति र वैकल्पिक नेतृत्वबाट नयाँ आशा राख्नु स्वाभाविक हो। तर नयाँ हुनु आफैँमा योग्य, इमानदार र सक्षम हुनुको प्रमाण होइन।नयाँ दलहरूले पुरानै प्रवृत्ति—व्यक्तिपूजा, अपारदर्शिता, गुटबन्दी, आलोचना नसहने संस्कार र सत्ताकेन्द्रित सोच—दोहोर्‍याए भने परिवर्तनको अर्थ के रहन्छ र जनताले नयाँको अर्थ के बुझ्ने ?

अब नयाँ भनिएका दलहरूले बुझ्नुपर्छ, जनताले अनुहार मात्र बदल्न खोजेका होइनन्;राजनीति गर्ने शैली, नेतृत्वको चरित्र र शासन सञ्चालनको परिणाम बदल्न खोजेका हुन् । त्यसैले नयाँ राजनीतिक शक्तिहरूले पनि आफ्ना नीति, निर्णय, आर्थिक गतिविधि र नेतृत्वलाई जनताप्रति पारदर्शी तथा जवाफदेही बनाउनुपर्छ। आलोचनालाई शत्रुता होइन, सुधारको अवसर मान्नुपर्छ।

जनताको चेत खुल्नु पर्छ पनि आफ्नो जिम्मेवारीबाट मुक्त छैनन् , नेता र दललाई मात्र दोष दिएर देश बन्दैन। निर्वाचनमा विवेकभन्दा आवेग, कामभन्दा आश्वासन र योग्यताभन्दा व्यक्तिगत वा दलगत मोहलाई प्राथमिकता दिने नागरिक प्रवृत्तिमा पनि सुधार आवश्यक छ। लोकतन्त्रमा जनता मतदाता मात्र होइनन्, राज्यका वास्तविक सार्वभौम शक्ति हुन्। त्यसैले नागरिकले प्रश्न गर्नुपर्छ, गलत कामको विरोध गर्नुपर्छ र आफ्ना प्रतिनिधिसँग कामको हिसाब माग्नुपर्छ । गलत नेतृत्व छान्ने, त्यसको गलत काममा मौन बस्ने र फेरि त्यही परिणामको गुनासो गर्ने प्रवृत्तिबाट पनि जनता मुक्त हुनुपर्छ।सत्य कुरा यो होकि अब जनता विवेकशील भएर आफ्नो निर्णय गर्न सक्ने जनतामा बिबेक खुल्नु पर्छ।

अबको बाटो: इमान्दारिता र संस्कारी सहकार्य : 

देश विकासका लागि सरकार लोकतन्त्रको मर्मअनुसार चल्नुपर्छ। कानुन सबैका लागि समान हुनुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन, सुशासन र भ्रष्टाचार नियन्त्रण राज्यका प्राथमिकता बन्नुपर्छ। राजनीतिक दलहरूले सत्ताका लागि प्रतिस्पर्धा गरे पनि राष्ट्रिय हितका विषयमा सहकार्य गर्न सक्नुपर्छ। सरकार र प्रतिपक्ष दुवैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ। नागरिक चेतना, जिम्मेवार नेतृत्व र लोकतान्त्रिक संस्कार एकअर्काका पूरक हुन्। यीमध्ये कुनै एक कमजोर हुँदा लोकतन्त्र प्रभावित हुन्छ; तीनवटै कमजोर हुँदा समृद्धिको यात्रा अवरुद्ध हुन्छ ।

पुराना दलले आफ्ना कमजोरी स्वीकारेर सुधार गर्नुपर्छ। नयाँ दलले पुरानाको असफलताबाट पाठ सिकेर नयाँ राजनीतिक संस्कार स्थापित गर्नुपर्छ। नागरिकले पनि दलगत अन्धसमर्थन त्यागेर विवेकपूर्ण निर्णय गर्ने र निरन्तर खबरदारी गर्ने संस्कार विकास गर्नुपर्छ। देश परिवर्तनको जिम्मेवारी कुनै एक नेता, दल वा पुस्ताको मात्र होइन। यो सबै नेपालीको साझा दायित्व हो।

अन्ततः, देश बदल्ने हो भने पहिले आफ्नो सोच बदलौँ। नेता बदलिनुपर्छ, राजनीतिक संस्कार बदलिनुपर्छ र नागरिकको चेतना पनि बदलिनुपर्छ। किनकि नयाँ नेपाल पुराना गल्ती दोहोर्‍याएर होइन, गल्तीबाट पाठ सिकेर मात्र निर्माण गर्न सकिन्छ।

— शेखर सेढाई 

हाल:जापान