कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा रहेको अमर गोकुल सामुदायिक वन उपभोक्ता समुहको १७ औं बार्षिक साधारणसभा तथा आमभेला सम्पन्न भएको छ । समूहले आर्थिक बर्ष २०८०/८१ मा २३ लाख ५५ हजार २ सय ६४ रुपैया बराबरको आयव्यय सार्वजनिक गरेको समूहका अध्यक्ष मानबहादुर थापाले बताउनुभयो । त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा समूहले ४२ लाख १० हजार ५ सय ८८ रुपैया बराबरको कारोबार गर्ने अनुमानित लक्ष्य राखेको उहाँले बताउनुभयो।


समूहका अध्यक्ष मानबहादुर थापाको सभाध्यक्षमा भएको कार्यक्रममा पुनर्वास ११ का वडा अध्यक्ष तुलसी अर्याल प्रमुख अतिथिमा रहनु भएको थियो । साधारण सभामा बोल्नुहुँदै पुनर्वास ११ का वडाध्यक्ष तुलसी अर्यालले स्थापनाकालदेखि अमर गोकुल सामुदायिक बन संरक्षणका लागि अहोरात्र खटिदै आएका स्थानीय बन उपभोक्ता तथा बन पदाधिकारीको प्रसंसा गर्दै अब बनलाई बहुपयोगि बन विकास  कार्यक्रमको रूपमा लैजानुपर्ने बताउनुभयो । वनका पदाधिकारीले गरेको कामको उच्च मूल्याङ्कन गर्दै उहाँले यस क्षेत्रमै पहिलोपटक डढेलो नलागेको वन बन्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो। जसका लागि समूहको सदस्यहरूको सक्रियता र मेहनतको उहाँले खुलेर प्रशंसा गर्नुभयो।समूहमा अझै पनि केही तिक्तता देखिएको बताउँदै उहाँले ती तिक्तताहरू मेटाउन सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो।


कार्यक्रममा समूहका अध्यक्ष मानबहादुर थापाले समूहको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै केही समय पहिले आएको एउटा समाचारले पछिल्लो समय गाउँघरमा नकारात्मक सन्देश फैलाएको बताउनुभयो। तर समाचारमा आएजस्तो केही पनि कुरा नभएको उहाँले बताउनुभयो । “सबै फाइलहरू, बिलहरू हामीले सुरक्षित राखेका छौं, जसलाई हामीले गलतै गरेका छौँ जस्तो लाग्छ आएर हेर्दा हुन्छ, उहाँले भन्नुभयो । बजारमा हल्ला चलेजस्तो केही पनि नभएको भन्दै उहाँले काम गर्दा भएका कमी कमजोरीहरुलाई अझ राम्रोसँग सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।