कञ्चनपुरको पुनर्वासमा सामुदायिक विद्यालयहरूले विद्यार्थी हरुको नतिजा प्रकाशन गर्न सुरु गरेका छन्। निजी विद्यालयहरूले धमाधम नतिजा प्रकाशन सुरु गरेसँगै सामुदायिक विद्यालयहरूले पनि नतिजा प्रकाशनलाई निरन्तरता दिएका छन्। यसैबीच पुनर्वास ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले वार्षिक नतिजा प्रकाशित गरेको छ । शिक्षकहरू यतिबेला शिक्षा ऐन ल्याउनुपर्ने भन्दै आम हडतालमा भएपनि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र अभिभावकको दबावले परीक्षाफल प्रकाशित ‌ गरिएको राष्ट्रिय माध्यमिक विद्यालय अमर बस्तीका अध्यक्ष टेकबहादुर खड्काले बताउनुभयो ।

पछिल्लो समय निजी विद्यालयहरूले धमाधम नतिजा प्रकाशन गरेर विद्यार्थीहरूको घरदैलोमा भर्ना अभियान सञ्चालन गरिरहँदा त्यसबाट विद्यालयलाई पर्न सक्ने असर, र नयाँ विद्यार्थी भर्नामा हुनसक्ने गिरावटलाई कमी गर्न नतिजा प्रकाशन गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय माध्यमिक विद्यालय अमर बस्तीका शिक्षक अभिभावक सङ्घका अध्यक्ष भूपेन्द्र अधिकारीले नयाँ शैक्षिक सत्रदेखि नर्सरी कक्षा, एक कक्षा र नौ कक्षामा अङ्ग्रेजी माध्यमबाट पढाइने निर्णय भएसँगै निजी विद्यालयको नतिजा प्रकाशनले विद्यार्थीहरू अन्यत्रै जान सक्ने भएकाले सो हुन नदिन पनि बाध्य भएर नतिजा प्रकाशन गर्नुपरेको बताउनुभयो ।

नतिजा प्रकाशन विषयमा बुझ्न राष्ट्रिय माध्यमिक विद्यालय अमर बस्तीका प्रधानाध्यापक नवराज पाण्डेलाई सम्पर्क गर्दा उहाँको फोन उठेन ।

यसैबीच पुनर्वास १० मा रहेको विजय माध्यमिक विद्यालयले पनि नतिजा प्रकाशन गरेको जानकारी प्राप्त भएको छ। यस विषयमा बुझ्न हामीले विजय माध्यमिक विद्यालयका अध्यक्ष गगनसिंह धामीलाई सम्पर्क गर्दा उहाँको फोन उठेन । शिक्षकहरुको आन्दोलनमा निजि बिद्यालयहरुले एकबद्धता जनाएको बताएपनी उनिहरुले धमाधम नतीजा प्रकासन संगै भर्ना अभियान सञ्चालन गरी रहेको देख्न सकिन्छ ।