कञ्चनपुरको पुनर्वास–६ टाउन बजारमा बुधबारदेखि नयाँ हाटबजार सञ्चालनमा आएको छ । पुनर्वास उद्योग बाणीज्य संघको पहलमा, पुनर्वास–६ को सक्रियतामा सो क्षेत्रको आर्थिक गतिविधिलाई बढाउने उद्देश्यका साथ हाट बजार सञ्चालन गरीएको हो । सुरुवातको चरण भएकाले अहिले हाटबजारमा ब्यापारीहरुको खासै सहभागीता नभए पनी आगामी दिनमा बजार बढ्नेमा आफु ढुक्क रहेको पुनर्वास उद्योग बाणीज्य संघका अध्यक्ष राज कुमार रायमाझीले बताउनुभयो । हाट बजारमा स्थानीय रुपमा उत्पादन हुने कृषि उपज, हस्तकला, घरेलु उत्पादन तथा दैनिक उपभोग्य सामग्रीको सहज कारोबार हुने उहाँ बताउनुहुन्छ ।

स्थानीय स्रोत र मागको आधारमा हाटबजार प्रत्येक साताको बुधबार सञ्चालन हुने छ । हाट बजारमा स्थानिय किसानहरूले आफ्नै बारीबाट ल्याएका अर्गानिक तरकारी तथा फलफूलको बिक्री गर्नेलाई आफुहरुले पनी प्राथामिक्ता दिने पुनर्वास–६ का वडाध्यक्ष मित्र सिंह लामाले जानकारी दिनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजारमुखी बनाउन सकिएमा पुनर्वास क्षेत्र कृषि तथा लघु उद्योगको केन्द्र बन्न सक्ने उहाँले बताउनुभयो ।

सुरुवाती चरणमा एक दुइ पसल मात्रै सञ्चालनमा आएपनी सो क्षेत्रका उपोभोक्ताहरुले हाट बजारलाई नियमित रुपमा सञ्चालन गर्न माग गरेका छन् । पुनर्वास–६ मा सुरु गरिएको हाटबजारले स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउँदै आत्मनिर्भर आर्थिक प्रणालीतर्फ अग्रसर गराउने सम्भावना बोकेको छ ।