कञ्चनपुरको पुनर्वासमा पुराना समितिका सदस्यहरु र ५० वर्ष मुनिका एकल महिलाहरुलाई लक्षित गरी दुई छुट्टा–छुट्टै तालिम सञ्चालन गरीएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आइतबार देखि तालिम सुरु गरीएको हो । पुराना समितिका सदस्यहरूलाई पाँच दिने तालीम सञ्चालन गरिएको छ । उनीहरूलाई नेतृत्व विकास, संस्थागत सञ्चालन, वित्तीय व्यवस्थापन र सामाजिक समावेशीकरण जस्ता आधारभूत सीपहरू प्रदान गरिने पालीकाले जनाएको छ ।

त्यस्तै, अर्को बेमौसमी तरकारी खेतीसम्बन्धी तीन दिने तालिम हुने छ । उक्त तालीममा ५० वर्ष मुनिका एकल महिलाहरूको सहभागीता रहेको महिला तथा बालबालिका शाखाले जनाएको छ । उनीहरूलाई आधुनिक खेती प्रणाली, बाली संरक्षण, सिँचाइ व्यवस्थापन, मल बिउको छनोट र बेमौसमी तरकारी खेतीसम्बन्धी तालीम दिने शाखाले जनाएको छ ।

तालीमको उद्घाटन गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले सहभागीहरूलाई शुभकामना दिँदै तालीममा सिकेका सिपहरु स्थानीय स्तरसम्म पुराउन आग्रह गर्नुभयो । आर्थिक र सामाजिक रूपले एकल महिलाहरूलाई सबल बनाउन बेमौसमी तरकारी खेती तालिम प्रभावकारी हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो । पालिकाले महिलाहरू, युवा तथा विपन्न समुदायका लागि बिभिन्न समयमा व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै पुनर्वास–३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङले राज्यले लगाएको लगानी खेर जान दिन नहुने बताउनुभयो । तालीम लियो सकियो, गर्न भन्दा ब्यवहारमा उतार्न चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो कार्यक्रममा पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्मा, पुनर्वास–३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ लगायत अन्य जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, शाखाका कर्मचारीहरु तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।