कञ्चनपुरको पुनर्वासमा बृहत रक्तदान संगै निशुल्क आँखा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गण्डकी सामुदायीक सेवा समाज नेपालको आयोजनामा पुनर्वास–६ स्थित जीवनज्योती माध्यामिक बिद्यालयमा उक्त कार्यक्रम भएको हो ।

रक्तदान तथा निशुल्क आँखा स्वास्थ्य शिबिर कार्यक्रमको उदघाटन गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शमाले आयोजकलाई धन्यवाद ब्यक्त गर्नुभयो । साथै कार्यक्रममा सहयोगी संस्थाहरुलाई कृतज्ञता ज्ञापन गर्दै उहाँले आगामी दिनहरुमा समेत सहकार्य गर्दै जाने बताउनुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटी रक्त संञ्चार सेवा केन्द्र धनगढीसंग पालिकाको सहकार्य भएको बताउदै पुनर्वासको बासिन्दा भएको परिचयपत्र भए निशुल्क रगत पाउने ब्यवस्था रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै पुनर्वास ६ का वडाध्यक्ष मित्र सिंह लामाले स्थानीयलाई सेवा दिने उद्देश्यले गरेका कार्यक्रमहरुको पालिका भित्र रहेका अन्य संघसंस्थाहरुले पनी सिको गर्न जरुरी रहेको बताउनुभयो । रक्तदान तथा आँखा शिबिर मानव जिवन र स्वास्थ्य संग जोडीएको बिषय भएको बताउदै आयोजक प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी सामुदायीक सेवा समाज नेपालका अध्यक्ष केशव प्रसाद तिमिल्सेनाले यस्तो किसिमको शिविरबाट ग्रामीण भेगका जनताका लागि सहज र उपयोगी हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमको उद्देश्य समुदायमा स्वास्थ्य सचेतना फैलाउने र आधारभूत स्वास्थ्य सेवा सबैसम्म पुराउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् भने ३ सय जनाले निशुल्क आँखा स्वास्थ्य शिबिर बाट सेवा लिएका छन् । जसमध्ये ८० जनालाई निशुल्क चस्मा बितरण गरीएको आयोजकले जनाएका छ । निशुल्क आँखा स्वास्थ्य शिबिरबाट २१ जनाको आँखामा बिभिन्न समस्या देखीएको र अप्रेसन गर्नूपर्ने भएकाले रेफर गरीएको गण्डकी सामुदायीक सेवा समाज नेपालका सदस्य आनन्द सुबेदीले जानकारी दिनुभयो ।

शिविरमा गेटा आँखा अस्पतालको विशेषज्ञ चिकित्सकको टोलीले आँखा परीक्षण, आवश्यक औषधि तथा परामर्श सेवा दिएका थिए । रक्तदान कार्यक्रम पनि नेपाल रेडक्रस सोसाइटी रक्त संञ्चार सेवा केन्द्र धनगढी सहकार्यमा सम्पन्न गरिएको छ । साथै ट्रान्सफरमेटिभ सोसाइटी अफ नेपालले निशुलक रुपमा चस्मा उपलब्ध गराएको थियो । पुनर्वास नगरपालिकाको बिशेष सहयोग र बिश्व हिन्दु परिषदको समन्वयमा रक्तदान तथा निशुल्क आँखा स्वास्थ्य शिबिर गरीएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो ।