नेपाल सरकार र आन्दोलनरत शिक्षकबीच भएको नौ बुँदे सहमति पश्चात स्थगित भएको शिक्षक आन्दोलनले सामुदायिक विद्यालयहरूमा पुनः चहलपहल बढाएको छ ।

झन्डै एक महिनासम्म प्रभावित पठनपाठन पुनः सुरु भएसँगै पुनर्वास नगरपालिका–११, अमर बस्ती स्थित राष्ट्रिय माध्यमिक विद्यालयले पनि भर्ना अभियानलाई तीव्रता दिएको छ ।


विद्यालयका प्रधानाध्यापक नवराज पाण्डेयका अनुसार हालसम्म २ सय ५० विद्यार्थी विद्यालयमा भर्ना भइसकेका छन् भने भर्ना हुने क्रम निरन्तर जारी रहेको उहाँले बतानुभयो । विद्यालयमा भर्ना भएका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण समेत भइरहेको उहाँले बताउनुभयो । प्रधानाध्यापक पाण्डेयले आइतबार (आज) देखि नै कक्षा सञ्चालन सुरु भैसकेको जानकारी दिनुभयो।


विद्यालयले स्थानिय अभिभावकहरूसँग समन्वय गर्दै भर्ना अभियानलाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको छ। शिक्षकहरू विद्यालय फर्किएपछि विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायमा समेत आशा र उत्साह बढेको देखिएको छ ।
पठनपाठन नियमित भएसँगै शिक्षा क्षेत्र पुनः गतिमा फर्किन थालेको स्थानीय शिक्षाप्रेमीहरू बताँउछन् ।