सशस्त्र प्रहरी बल नेपाल विओपि दोदामा मंगलबार सीमा सहजीकरण समितिको बैठक भएको छ । बैठकले सीमा क्षेत्रको सुरक्षालाई थप सुदृढ बनाउने, बिपद् ब्यवस्थापन र कम्युनिटी भोलेन्टियर ट्रेनिङ सञ्चालन गर्ने निर्णयहरू गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल विओपि दोदाका सुरक्षा अधिकारी, स्थानीय र जनप्रतिनिधिहरू बीच नियमित रूपमा सूचना सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णय गरीएको विओपि दोदाका सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीले जानकारी दिनुभयो । यस्तै आगामी मनसुनलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा सम्भावित विपद् व्यवस्थापनका लागि विशेष योजना सञ्चालन गरिने निर्णय गरीएको छ । विपद् व्यवस्थापनका लागी तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूलाई तयारी अवस्थामा राखिने निर्णय गरिएको विओपि दोदाका सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

साथै सशस्त्र प्रहरीले सिमा क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई समेट्दै कम्युनिटी भोलेन्टियर ट्रेनिङ सञ्चालन गर्न पुनर्वास नगरपालिका संग समन्वय गर्न समितिका संयोजक तथा पुनर्वास १० का वडाध्यक्ष सुकदेव राना अध्यक्ष मार्फत पहल गर्ने निर्णय गरीएको छ । बैठकको अध्यक्षता समितिका संयोजक तथा पुनर्वास १० का वडाध्यक्ष सुकदेव रानाले गर्नुभएको थियो । बैठकमा स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकाय तथा सरोकारवाला पक्षहरूको उपस्थिति रहेको थियो।