कञ्चनपुरको पुनर्वास नगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु गरेको छ । बिहान कार्यालय परिसरमा सरसफाई, वृक्षारोपण साथै कर्मचारीहरूबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता समेत गरेको छ । यो संगसंगै धनगढीमा रहेको दृष्टि फाउण्डेसनलाई खाद्यान्न सामग्री प्रदान गरेको छ । नगरपालिकाले झण्डै १५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको हो ।

पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले खाद्यान्न वितरण गर्दै दृष्टि फाउण्डेसनको कार्यप्रति सराहना व्यक्त गर्नुभयो । उहाँले पालिकाले आगामी दिनहरुमा पनी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा दृष्टि फाउण्डेसनको सञ्चालक कल्पना भट्टले पुनर्वास नगरपालिकाले गरेको सहयोग प्रति आभार ब्यक्त गर्नुभयो ।

दृष्टि फाउण्डेसन हाल ७० जना भन्दा बढी बौद्धिक अपांगता भएका महिला तथा बालबालिकालाई संरक्षण, आवास र हेरचाह प्रदान गर्दै आइरहेको छ । फाउण्डेसनले विशेष आवश्यकता भएका व्यक्तिहरूको जीवनस्तर सुधारमा सक्रिय भूमिका खेलिरहेको छ । नगरपालिकाको सहयोगले अपांगता भएका बालबालिका तथा महिलाहरूको दैनिकी सहज बनाउन सघाउने विश्वास लिइएको छ ।