पुनर्वास : नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति गोपि प्रसाद उपाध्याय पछिल्लो समय समाजसेवामा सक्रिय हुनुहुन्छ । सभापति उपाध्याय यतिबेला सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सेवा–मूलक कामहरुमा सक्रिय हुनुभएको छ ।

मंगलबार उपाध्यायले पुनर्वास–११ स्थित ४३ बर्षीय लिला देबि सिंहलाई ह्वील चियर वितरण गर्नुभएको छ । ३ बर्ष अघि घाँस काट्ने क्रममा रुखबाट लडेर ओछ्यानमै थलिएको लिला देबि सिंहलाई ह्वील चियरले ओछ्यानबाट उठ्ने वातावरण बनाएको छ । दैनिक जीवनयापनमा कठिनाइ बेहोर्दै आएकी लालीदेवी सिंहलाई ह्वील चियर प्राप्त भएपछि परिवारमा सहजता हुने भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले नेता उपाध्यायलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै नेता उपाध्यायले आइतबार मात्रै बेलौरी नगरपालिका–६, स्थित ८७ वर्षीय अशक्त वृद्ध बेसर सिंह विष्टलाई ह्वील चियर प्रदान गर्नुभएको थियो । उपाध्यायले गत बुधबार पनि बेलौरी –४ का ७७ वर्षीय टेकराज पन्त र ६४ वर्षीया भगवती धामी लाई ह्वील चियर वितरण गर्नु भएको थियो ।

यी त थिए केही उदाहरणहरू तर उपाध्यायले हालसम्म २७ जनालाई ह्वील चियर वितरण गरिसकेको बताउनुभयो । आफ्नो कुनै पनि स्वार्थ नराखी गाउँ गाउँमा घुम्ने क्रममा भेटिएका/देखिएका पीडामा मलम लगाउने काम मात्रै गरेको उहाँले बताउनुभयो । आफूसँग अझै धेरै व्यक्तिहरू सम्पर्कमा आएको समेत उहाँले बताउनुभयो ।

सभापति उपाध्यायले यस कार्यलाई समाज प्रतिको आफ्नो कर्तव्यको रूपमा लिएको बताउनुभयो । अपांगता भएका नागरिकहरूको जीवन सहज बनाउने प्रयास गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको उहाँले बताउनुभयो । उहाँले ह्वील चियर वितरण मात्र नभएर, वैदेशिक रोजगारका क्रममा विदेशबाट उद्धार गरेर ल्याउनपर्ने व्यक्तिहरूका लागि समेत विभिन्न कामहरू गर्दै आउनुभएको छ ।

पुनर्वास-११ मा अझै एकजनालाई आफूले ह्वील चियर वितरण गर्ने, र सो ह्वील चियर बच्चाका लागि भएको बताउँदै केही मोडिफाई गर्नुपर्ने भएकाले थोरै अरु समय लाग्ने उहाँले बताउनुभयो । ह्वील चियर वितरण कार्यक्रममा पुनर्वास ११ का वडाध्यक्ष तुलसी अर्याल, वडा सदस्य पदम सिंह धामी, राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर खड्का, काङ्ग्रेस नेताहरू दीर्घ सिंह ठकुरी, नगेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

स्थानीय बासिन्दाहरूले समेत उपाध्यायको सक्रियता र समर्पणको खुलेर प्रशंसा गरेका छन् । समाजसेवा मार्फत जनतासँगको सम्बन्ध सुदृढ पार्दै नेता उपाध्यायले राजनीतिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् ।