कञ्चनपुरको पुनर्वासमा स्कुल वन हरियाली कार्यक्रम सम्पन्न भएको छ । पुनर्वास–१० स्थित विजय माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्देश्य वातावरण संरक्षण प्रति विद्यार्थीहरूमा सचेतना जगाउनु, वृक्षारोपणको महत्व बुझाउनु र विद्यालय क्षेत्रलाई हरियाली बनाउनु रहेको सब–डिभिजन वन कार्यालय कुण्डाका प्रमुख वन अधिकृत दिनेश कुमार यादवले बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरूलाई वन वातावरणको अवस्था, जलवायु परिवर्तन, बृक्षारोपणको महत्व, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण लगायतका विषयमा समेत जानकारी दिइएको उहाँले बताउनुभयो । विद्यालय स्तरबाटै वन संरक्षणको अभ्यास गर्न आवश्यक रहेको बताउदै अवका दिनमा वन संरक्षणमा बिद्यार्थीहरुको भुमीका रहने उहाँ बताउनुहुन्छ ।

कार्यक्रममा जलवायु परिवर्तन न्यूनीकरण र जैविक विविधता संरक्षणमा वृक्षारोपणको भूमिका महत्वपूर्ण हुने बिषयमा छलफल समेत भएको छ । यस्तै कार्यक्रममा बोल्दै विजय माध्यमिक विद्यालयका प्रधानाध्यापक भवानीदत्त अवस्थीले वन संरक्षण सम्बन्धी ज्ञान विद्यार्थीहरूले पाठ्यपुस्तकमै अध्ययन गर्दै आएको बताउदैै व्यवहारिक अभ्यासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा ब्यक्त गर्नुभयो ।

डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा भएको कार्यक्रममा कक्षा ७ देखि ९ सम्मका झण्डै ६० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।