कञ्चनपुरको पुनर्वासमा पछिल्लो समय फैलिएको डेंगु नियन्त्रणका लागि पालिकाले लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको छ । नगरपालिकाको आयोजनामा स्थानीय समुदाय, नेपाल प्रहरी सशस्त्र प्रहरी लगायतको सहभागितामा डेंगु रोग फैलाउने एडिस एजिप्टाई जातको लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य गरिएको हो ।

सो अभियान अन्तर्गत सहभागीहरूले पानी जम्ने स्थान, गमलाका भाँडाहरु, टायर, ट्यांकी र अन्य सम्भावित क्षेत्रहरूमा खोजी गरी सरसफाई गरेको पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले जानकारी दिनुभयो । पछिल्लो समय पुनर्वास नगरपालिका वडा नम्बर ४ को कोटीहोम क्षेत्रमा डेङ्गुका बिरामीहरू बढ्दै गएपछि सो अभियान गरिएको उहाँले जानकारी दिनुभयो ।

सो अभियान मार्फत डेंगु रोगको संक्रमणलाई न्यूनीकरण गर्न र समुदायलाई सचेत बनाउनु रहेको पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले बताउनुभयो । उहाँले यस्ता खालका अभियानहरू पालिकाभरि नै वडा कार्यालयको अगुवाइमा गर्नुपर्नेमा जोड दिनुभयो ।

के हो त डेङ्गु ?
डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ। यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ। विशेष गरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ। सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन्।

एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ। उक्त लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ। विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ।

डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ। पोथी जातको लामखुट्टेले अन्डा पार्ने वेलामा टोक्ने गर्छ। एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ। दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन्।