कञ्चनपुरको पुनर्वास ११ भिमबस्तिमा रहेको सिमाना साना किसान कृषि सहकारी संस्थाको ९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच संस्थाको निर्माणाधीन भवनमा देवकी सापकोटाको अध्यक्षता र पुनर्वास नगरपालिका वार्ड नम्वर ११ का वडाध्यक्ष तुलसी अर्यालको प्रमुख आतिथ्यतामा नवौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

 साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै पुनर्वास ११ का अध्यक्ष तुलसी अर्यालले पछिल्लो समय पुनर्वास नगरपालिका भित्र सिमाना साना किसान कृषि सहकारी एक नम्बरमा रहेको बताउनुभयो । २७ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले १ हजार २ सय भन्दा बढी सेयर सदस्य हुनु गर्वको कुरा रहेको उहाँले बताउनुभयो । शेयर सदस्यहरूमा पनि सहकारी हाम्रो हो भन्ने भावना हुनुपर्ने बताउँदै, सहकारीको पूर्ण स्वामित्व सेयर सदस्यहरूमा निर्भर रहेको बताउनुभयो । सहकारीलाई कस्तो बनाउने भन्ने कुरा सेयर सदस्यहरूकै हातमा रहेको बताउँदै साधारण सभाको दिनमा आफूलाई चित्त नबुझेका कुराहरू राख्न उहाँले आग्रह गर्नुभयो ।

गाउँघरमा स्थापना भएर दिदीबहिनीहरूको एक एक रुपैया संकलन गरेर सहकारीले अहिले ४९ लाख नाफा कमाउन सफल भएको बताउँदै उहाँले सहकारी सञ्चालक, सेयर सदस्यहरूमा कृतज्ञता व्यक्त गर्नुभयो। सहकारीले जग्गा खरिद गरी भवन निर्माण प्रक्रियामा रहेकाले पनि प्रगति हुँदै गरेको प्रष्ट देखिएको उहाँले बताउनुभयो । उहाँले पालिकाबाट गर्नुपर्ने सहयोग गर्न पुनर्वास नगरपालिका तत्पर रहेको बताउँदै सहकारी र पालिका मार्फत स्थानीय स्तरमा गर्ने कामहरूमा सहकार्य गर्न समेत आग्रह गर्नुभयो ।

यस्तै साधारण सभा कार्यक्रममा बोल्दै सिमाना साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष देवकी सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विसं २०७३ चैत १ गते सहकारी स्थापना भई हालसम्म पुग्दा १२७७ घरधुरी परिवार सहकारीमा आबद्ध भएको उहाँले जानकारी दिनुभयो । सहकारीले आर्थिक वर्ष २०८१र८२ मा १ करोड ६७ लाख ८६ हजार आम्दानी गरेको छ भने १ करोड १३ लाख ७४ हजार खर्च गरी ४९ लाख ८९ हजार नाफा कमाउन सफल भएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८१र ८२ मा सहकारीले ३५ लाख ८८ हजार ब्याज भुक्तानी गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै सहकारीले आर्थिक वर्ष २०८२र८३ मा २ करोड २३ लाख ५६ हजार आम्दानी गर्नुका साथै ६० लाख नाफा कमाउने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । सहकारीले सहुलियत ब्याजदरमा कृषि तथा गैर कृषि कर्जा उपलब्ध गराउने, रोजगारीको अवसर सिर्जना गर्ने, पशुधन संरक्षण कार्यक्रम सञ्चालन गर्ने, विभिन्न सिपमूलक तालिमको व्यवस्था गर्ने लक्ष्य राखेको समेत उहाँले जानकारी दिनुभयो । सहकारीले आफ्ना सेयर सदस्य तथा सेयर सदस्यको परिवारमा कोही पनि दीर्घरोगी भए उनीहरुका लागि पोषण तथा खाजा खर्चबापत पाँच हजार रूपैयाँका दरले १४ जनालाई वितरण गरेको थियो ।

साधारण सभा कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाका वरिष्ठ सहायक योगराज जोशी, पुनर्वास नगरपालिका कृषि शाखाका प्राविधिक सहायक उदयराज ओझा लगायतको उपस्थिति रहेको थियो। यस्तै साना किसान कृषि सहकारी संस्था लिमिटेड दैजिका अध्यक्ष जयराज जोशी, उपाध्यक्ष शेरबहादुर राना, जनप्रतिनिधिहरू, प्रहरी चौकी पच्कडियाका प्रतिनिधि, पत्रकार, सहकारी सञ्चालक पदाधिकारीहरू, सेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।   कार्यक्रममा स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष बिख्मा राना बडायकले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहकारीका प्रबन्धक गंगाकुमारी बिष्टले गर्नुभएको थियो ।